April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

नेपाल र बङ्गलादेशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने: परराष्ट्रमन्त्री ज्ञवाली

  • 10
    Shares

काठमाडौं, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् । आज ढाकामा पत्रकारसँग अन्तर्वार्ता दिँदै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।

उनले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका लागि भारतसँगको सहयोग र सम्बन्ध विस्तारमा पनि दुवै देशले समान प्राथमिकता दिएको बताए ।

मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति भण्डारी र बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच सोमबार भएका द्विपक्षीय भेटवार्ता र अन्य छलफलमा उक्त कुरा राखिएको मन्त्री ज्ञवालीले बताए ।

यस्तै भेटवार्ताका क्रममा नेपालले आफ्ना उत्पादनहरुको बङ्गलादेशमा सहज व्यापारिक पहुँचका लागि प्रस्ताव गरेको मन्त्री ज्ञवालीले जनाए । राष्ट्रपति भण्डारीसँग बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री डा एके अब्दुलले सोमबार शिष्टाचार भेटवार्ता गरेका थिए भने मन्त्री ज्ञवाली र विदेशमन्त्री अब्दुलबीच ‘साइडलाइन’ वार्ता भएको थियो ।

ती भेटवार्तामा आपसी घनिष्ठ सम्बन्धलाई आर्थिक साझेदारीसहित अघि बढाउन सघन छलफल भएको र औपचारिक सम्बोधनका क्रममा दुवै देशका नेताबाट उक्त प्रतिबद्धता प्रकट भएको बताउँदै मन्त्री ज्ञवालीले ऊर्जा, पर्यटनलगायत व्यापार प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि साझा प्रयासका विषयमा पनि छलफल भएको जानकारी दिए । बङ्गलादेशसँग भएको रोहनपुर–सिंहबादमा नयाँ ‘ट्रान्जिट रुट’को पत्राचार आदानप्रदानको सहमतिले नेपालले तेस्रो मुलुकसँग व्यापार सुगमता पाउने निश्चित भएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको