April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

सिङ्गो गाउँकै पुर्जा अरुको नाममा, पुर्जाविहीन हुँदा बासिन्दा चिन्ताजनक

कावासोती, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् ।

हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् । लामो समयदेखि बसोबास गरेको जमिन भूमाफियाले आफ्नो नाममा पुर्जा बनाउँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् ।

त्यहाँका ७० बिघा जग्गाको करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन् । पुर्जा निकाल्नेहरु काठमाडौँ, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति भएको जनाइएको छ ।

विसं २०३१ देखि बसोबास गर्दै आएको भए पनि आफू बसोबास गरेको जमिनको पुर्जा भने अरुकै नाममा रहेको स्थानीयको भनाइ छ । विसं २०३१ देखि बसोबास गरेको बताउने मायाराम थारूको जग्गाको समेत भूमाफियाले आफ्नो नाममा पुर्जा निकालेका छन् ।

उनले भने, “यहाँ केही थिएन मलगायत केही व्यक्तिले झाडी फाँडेर बस्यौँ, त्यो बेला वनको क्षेत्र भनेर मलाई त समातेर भैरहवा जेलमा समेत थुनियो । पछि धरौटीमा छाड्यो, तर आफैँले भोग गरेको जमिनको भने भूमाफियाले पुर्जा निकाले ।” आफैँले भोग गरेको जग्गासमेत भूमाफियाले गाउँमै नआई पुर्जा बनाएको उनले बताएका छन् ।

विसं २०३१ देखि बसोबास गरेको भए पनि २०५५ मा भने आफ्नो जग्गा भूमाफियाले पुर्जा बनाएर कब्जा गरेको थारूको भनाइ छ । उनीजस्तै त्यहाँका धेरै घरपरिवारको बसोबास रहेकाले जग्गाको पुर्जा अर्कैको नाममा छ । विसं २०५४ मा फिल्डबुक कायम गरी विसं २०५५ मा मालपोत कार्यालयले पुर्जा वितरण गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको