
काेराेना महामारीकाे लामाे समय भएकोले अब विकल्प स्वरुप सुरक्षित भई हवाई यात्रा सञ्चालन गर्ने बारे तयारी भइरहेको छ । गत शुक्रबार नै पर्यटन मन्त्री योगेश भट्टराईले अब पर्यटन क्षेत्र सुचारु गरिने र त्यसका लागि आवश्यक गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘अब पर्यटन क्षेत्र सुचारु गर्नुको विकल्प छैन ।
व्यवसाय सुचारुको पूर्वतयारी करिब अन्तिम अन्तिम चरणमा पुगिसकेको छ ।’ मन्त्री भट्टराईले भने, ‘कोभिड–१९ को महामारीको चुनौती स्वास्थ्य सुरक्षा भएकाले पर्यटनसँग सम्बन्धित सबै क्षेत्रका लागि स्वास्थ्य सुरक्षाको प्रोटोकल सार्वजनिक गरिसकेका छौँ । सो प्रोटोकलले व्यवस्था गरेको नियम सबैलाई पालना गर्न पनि निर्देशन गरिसकेका छौँ । सम्भवतः अब छिटै नै उक्त योजना कार्यान्वयनमा आउनेछ ।
यता मन्त्रालयले भने पर्यटन क्षेत्र सुचारु गर्नका लागि आवश्यक पूर्वतयारी सुरु गरिसकेको छ । मन्त्रालयद्वारा पहिलो चरणमा तयार भएको हवाई सेवा सुचारुसम्बन्धी प्रोटोकल स्वीकृत भइसकेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण गरी सुरक्षित हवाई सेवा सञ्चालन सम्बन्धी प्रोटोकल स्वीकृत भएको हो । यसै प्रोटोकल अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका प्रमुख विमानस्थलहरुमा निश्चित दूरी कायम गरी हवाई सेवा सञ्चालनका लागि एयरपोर्टहरुको मार्किङसहित स्वास्थ्य सुरक्षात्मक उपायहरुको समेत प्रबन्ध गरिसकेको छ ।
निजी वायुसेवा सञ्चालकहरुले पनि आफूहरु उडान भर्न तयार रहेको बताएका छन् । उडान भर्न सम्पूर्ण तयारी पूरा गरेर बसेका छाै र सरकारको निर्देशन पाए उडान शुरुहुने बताउँछन् ।





