August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

पर्यटन विभागले पहिलो पटक २१ सय पाँच जनालाई “माउन्टेन गाइड” अनुमतिपत्र दिँदै

काठमाडौं, पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ लाइसेन्स वितरण शुरु गरेको छ । विभागले योग्यता पुगेका २१ सय पाँच जनालाई पर्वतारोहीलाई लाइसेन्स दिन शुरु गरेको हो ।

विभागका निर्देशक एवं पर्वतारोहण शाखाका प्रमुख मीरा आचार्यका अनुसार विभागले सूचना जारी गरी आजबाट निवेदन संकलन गर्न शुरु गरेको हो ।

प्रकाशित सूचना अनुसार नेपाल पर्वतारोहण संघबाट रातो किताब लिएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट प्रदान गरेको तह चार को माउन्टेन गाइड प्रमाणपत्र पाएका पर्वतारोहीले लाइसेन्स पाउनेछन् ।

यसमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट तह चार को माउन्टेन गाइड प्रमाणपत्र लिने ११ जना र नेपाल पर्वतारोहण संघबाट रातो किताब पाएका दुई हजार ९४ जना गरी २१ सय पाँच जनाले पहिलो पटक लाइसेन्स प्राप्त गर्नेछन् ।

६८ वर्षअघि सन् १९५३ मा एडमण्ड हिलारी र तेञ्जिङ शेर्पाले पहिलो पटक सगरमाथाको आरोहण गरेपछि हिमाल र मानवबीचको सम्बन्ध शुरु भएको पाइन्छ । त्यो समयदेखि आजसम्म हिमालमा काम गर्ने पर्वतारोहीका लागि सरकारले प्रमाणपत्र उपलब्ध गराएको थिएन ।

शीर्ष समाचार

धेरै पढिएको