August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

नारायणहिटी दरबारको सिनेमा हल खुलाइँदै

काठमाडौं, नारायणहिटी दरबारको सिनेमा हल खुलाउने भएको छ । सङ्ग्रहालयमा अवलोकनकर्ताहरुले केही समयपछि तत्कालीन राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउने भएका छन् ।

सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार सिनेमा हलका बारेमा धेरैले जिज्ञाशा राख्ने गरेकोले अब छिटै सिनेमा हलमा पुराना सिनेमा हेर्न पाइने भएको हो ।

नारायणहिटी दरबारको मूल भवनमा दसैँमा टीका थाप्ने कक्षसँग जोडिएको उक्त सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द छ । दरबार अवलोकर्ताहरुको चासो र उत्सुकता सिनेमा हलप्रति हुने गरेपछि सो हल खुला गरी अवलोकनकर्ताका लागि सिनेमा प्रदर्शन गर्न नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति तयारी गर्दै छ ।

झण्डै २० वर्षसम्म ‘प्रोजेक्टर हल’ रहेको सानो कोठामा सिनेमाका ती रिललाई थन्क्याइँदा ढुसी परेको र रिल छोप्ने प्रत्येक भाँडोलाई सङ्ग्रहालयका महिला कर्मचारीहरुले मट्टितेलले सफा गरिरहेका छन् । नेपाल चलचित्र संस्थानबाट अवकास प्राप्त प्राविधिक भरतप्रसाद नेपाल रिललाई सफा गर्नेदेखि अन्य मर्मतका कार्यमा व्यस्त छन् ।

उनले २०२६ सालदेखिका डकुमेन्ट्री तथा केही नेपाली चलचित्रको रिल रहेको बताउँदै भने, “धेरै जसो रिललाई यही सफा गर्न सकिन्छ । कतिपयको अवस्था जीर्ण भएकाले भारतमा पठाउनुपर्ने हुनसक्दछ ।”
दरबारको सिनेमा हलमा दुई वटा प्रोजेक्टर छन् । तिनलाई सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिन्छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालले सकेसम्म आगामी वैशाखबाट सिनेमा प्रदर्शन गर्ने तयारी गरिएको बताउँदै थपे, “अवलोकनकर्तालाई समय तोकेर पालैपालो सिनेमा देखाइनेछ ।”

तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदारहरुले प्रायः शुक्रबार सिनेमा हेर्ने गर्दथे । विदेशी सिनेमाहरु उपत्यकाका सिनेमा हलबाट रिल राजपरिवारलाई देखाइन्थ्यो । सिनेमामा ११६ वटा सिट छन् । पाँच वटा सोफा राखिएका छन् । ती सोफालाई कपडाले छोपेर राखिएको छ । प्रायः राती सिनेमा हेर्ने चलन हुन्थ्यो भनेर तत्कालीन दरबारका कर्मचारीहरु सुनाउँछन् । सभार गोरखापत्र

शीर्ष समाचार

धेरै पढिएको