April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

दोभान बजार आगलागी: अग्निपीडितलाई सहयोगको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौं, ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुन:स्थापनाको मागसहित गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ । बुधबार ताप्लेजुङका सांसदसमेत रहेका नेकपा नेता योगेश भट्टराईको नेतृत्वमा  ज्ञापनपत्र बुझाइएको हो ।


दोभानका आगलागीपीडितलाई भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन ज्ञापनपत्रमा माग गरिएको छ । मिरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार भएको आगलागीमा ४९ घर जलेका छन् भने डेरावालसहित ७९ परिवार विस्थापित भएका छन् ।

भट्टराईकै नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठनसमेत गरिएको छ । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्निपीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताए ।

मंगलबार नै टेन्ट, ब्ल्यांकेट पठाइएको र बुधबार खाद्यान्नलगायत अन्य सामग्री पठाइने उनको भनाइ छ । आवासका निम्ति भूकम्पपीडितसरहको मापदण्डका आधारमा आवश्यक रकम उपलब्ध गराइने उनले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको