
दार्चुलामा एकै दिन ३ वटा बीओपी स्थापना गरिएको छ । दार्चुलाको नेपाल र भारत सीमावर्ती क्षेत्रमा एकै दिन सशस्त्र प्रहरीको तीनवटा सीमा सुरक्षा चाैकी बीओपी थपिएकाे छ । बिहीबार सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख वैद्यनाथ बाहिनीपति डिआइजी हरिशङ्कर बुढाथोकीले लेकम गाउँपालिका—३ लाली, मालिकार्जुन गाउँपालिका—७ जोलजिबी र व्यास गाउँपालिका—२ दुम्लिङमा स्थापना भएका बीओपीको उद्घाटन गरेका छन् ।
बुधबार बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको बीओपी उद्घाटन गरेर दार्चुला आइपुगेका डिआइजी हरिशङ्कर बुढाथोकीले बिहीबार तीन वटै बीओपीको उद्घाटन गरेको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० हेडक्वार्टर दार्चुलाका डिएसपी डम्बरबहादुर विष्टले जानकारी दिएकाछन् । डिआइजी बुढाथोकी जोलजिबी र लालीमा बीओपी स्थलमा पुग्नुभएको थियो भने दुम्लिङमा भिडियो कन्फ्रेन्समार्फत बीओपी उद्घाटन गरिएको डिएसपी विष्टले बताउनुभयो । तीन वटै बीओपीमा २०/२० जना सुरक्षाकर्मी खटाइएका छन् ।
तत्काल बीओपीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षकले गरेका छन् । केही समयपछि सशस्त्र प्रहरी निरीक्षकले नै बीओपीको नेतृत्व गर्ने डिएसपी विष्टले बताउनुभयो । गाेरखापत्र अनलाइनमा प्रकासीत समाचार अनुसार गत मङ्गलबार नै दार्चुलाका तीनवटै स्थानमा बीओपी उद्घाटन गर्ने तयारी भएपनि महाकाली लोकमार्गअन्तर्गत मालिकार्जुन गाउँपालिकाको पनेबाँजमा सडक अवरुद्ध भएर डिआइजी बुढाथोकी बैतडीमै रोकिएका थिए ।
भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र नजिकको व्यासको छाङरुमा गत वैशाख ३१ गते बीओपी स्थापना गरिएको थियो । दोस्रो चरणमा अतिक्रमित भूमि कालापानी नजिकको कौवाक्षेत्र, महाकाली नगरपालिका—९ दत्तु, व्यास गाउँपालिका—३ सुनसेरा र व्यास गाउँपालिका—१ चीन सीमा नजिकको तिङ्कर लगायत विभिन्न स्थानमा बीओपी थप्ने सरकारको तयारी छ । जिल्ला सुरक्षा समितिले उक्त चारवटै स्थानमा बीओपी थप्न सिफारिस गरिसकेपनि गृह मन्त्रालयले निर्णय गर्न बाकी रहेको उनले बताए ।





