April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

पुरातत्व विभागप्रति मेयर शाक्यको आक्रोश: अब छाडा छोड्न सकिन्न, कानुनी दायरामा ल्याउँछौ

  • 12
    Shares
file photo

काठमाडौं,काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले पुरातत्व विभागप्रति आक्रोश व्यक्त गरेका छन् । आज सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै उनले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निमाणका क्रममा विवाद हुने गरेको बताएका हुन् ।

कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताएका छन् । अहिले पुरातत्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र जनतालाई एकआपसमा लडाउन खोजेको आरोप पनि मेयर शाक्यले लगाए ।

उनले भने, ‘पुरातत्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ् भन्छ। पुरातत्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो? के लडाउने काम हो? त्यसकारण पुरातत्व विभागलाई त्यस्तो किसिमले छाडा रुपमा छोडन सकिन्न । ‘जनतालाई एक आपसमा लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्व विभागलाई कानूनको दायराभित्र हामी ल्याउँछौं।’

मेयर शाक्यले पुरातत्व विभागले यही अनुसार काम गर्दै गए कारबाही गर्ने चेतावनी समेत दिएका छन् । महानगरभित्र रहेका कतिपय सम्पदाहरु पुरातत्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको पनि बताए ।

हनुमानढोकाभित्र रहेका सतलहरुमा पुरातत्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खाली गराउन विभागलाई पत्राचार गरिसकेको बताए । सबै पसल र होटलहरु नहटाए स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

‘काठमाडौं महानगरपालिका मौलिक संस्कृति, मौलिक सम्पदालाई मौलिक रुपमा कायम गर्न चाहन्छौं । हामीले पुरातत्व विभागलाई पत्र पनि लेखिसकेका छौं । हनुमानढोकाभित्र जुन जुन सतलहरु थिए, ती सतलबाट पुरातत्व विभागले व्यापार गरेर खाइरहेको छ’, उनले भने, ‘ती पसल बन्द गर भनेर पत्रचार गरिसकेका छौं । पुरातत्व विभागले व्यापार गरेर पैसा कमाउने होइन । सतल खुल्ला, बटुवामैत्री हुनुपर्छ भन्ने महानगरपालिकाको धारणा हो ।’

शीर्ष समाचार

धेरै पढिएको