ताप्लेजुङमा फागुन अन्तिमबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने

फुङ्लिङ, फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ ।
ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म एक हजार ३५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार ३६२ ले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन् ।
फागुन मसान्तबाट एउटा पालिकाका बढीमा १५ दिन बस्ने गरी राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य शुरु गर्ने कार्ययोजना तयार भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताएका छन् ।
विवरण सङ्कलन कार्य प्रत्येक वडामा गरिने छ ।विभागका अनुसार वडाभित्रको जनसङ्ख्याको आकारअनुसार एउटा वडामा १ देखि बढीमा ६ वटासम्म विवरण सङ्कलन स्टेशन तोकिने भएको छ ।
एउटा स्टेशनबाट दैनिक न्यूनतम ४० सम्मको विवरण सङ्कलन गर्ने विभागको तयारी रहेको निर्देशक उपाध्यायले बताए । वडास्तरमा दर्ता अभियान सञ्चालन, रुजु र राष्ट्रिय परिचय नम्बर जारी र केन्द्रीय प्रणालीमा डाटा अपलोड अबका कार्य हुनेसमेत विभागले जनाएको छ ।
प्रतिकृया दिनुहोस्