March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

खुलामञ्चमा राखिएका अस्थायी भौतिक संरचना महानगरद्वारा धमाधम हटाइँदै

काठमाडौं, काठमाडौं महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना धमाधम हटाउने कार्य थालेको छ ।

२०७२ बैशाख १२ को गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थियो ।

अहिले स्कुल निर्माण सम्पन्न भइसकेको छ र अस्पताल पनि निर्माणको अन्तिम चरणमा रहेकाले कामपाले खुलामञ्चमा राखिएका सामग्री हटाउन लागेको हो ।

पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल सभा, विरोध प्रदर्शन, र्याली, आमसभालगायतले महानगर क्षेत्रभित्रका सडक अस्तव्यस्त बनेकाले छिटो खाली गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिएका छन् ।

भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणका लागि खुलामञ्चभित्र अस्थायीरूपमा सरेको पुरानो बसपार्कलाई छिट्टै पुरानै लयमा फर्काउने महानगरको योजना छ ।

अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुञ्जेल खुलामञ्चमा ठूला आमसभा हुने दिन सवारीलाई टुँडिखेल घुमाएर बसपार्कसमेत खुला गर्नेसम्मको तयारी गरिएको छ ।