
नेपाल चट्याङको उच्च जोखिममा रहेको मुलुक हो । प्रति १० लाखमा सरदर ४ जनाको मृत्यु चट्याङ्कै कारण हुने गरेपनि यसको जोखिम न्यूनीकरणका लागि भने खासै काम हुन सकेको छैन । नेपालमा गत वैशाखयता चट्याङ लागेर ४० जनाको मृत्यु भैसकेको छ । त्यस्तै १ सय ३१ जना घाइते भएका छन् ।
चट्याङबाट जनावरहरु झन् धेरै संख्यामा मर्ने गरेका छन् । यकिन तथ्याङ्क त छैन; तर चट्याङबाट मारिने जनावरको संख्या मान्छेको भन्दा करिव १० गुणा बढी रहने गरेको अनुमान छ । चट्याङको जोखिमलाई हेर्दा नेपाल विश्वमै पाँचौं नम्बरमा पर्दछ । यहाँ बाढी, पहिरो र आगलागीबाट भन्दा चट्याङ लागेर बढी मानिसको मृत्यु हुने गरेको विज्ञहरुको भनाइ छ । पूर्व सावधानीका उपायहरू अँगाल्न नसक्दा नेपालमा जनधनको क्षति बढी हुने गरेको विज्ञहरु बताउछन् । घरभित्र र बाहिर हुँदा पनि विशेष सावधानी लिनसके चट्याङबाट बच्न सकिने चट्याङविज्ञ श्रीराम शर्मा ज्ञावली बताउनुहुन्छ ।
यसैबीच सरकारले चट्याङबाट हुने क्षति न्युनीकरणका लागि सामान्य सावधानीका कार्यक्रमहरु सुरु गरेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिनु भएको छ । विश्वमा प्रतिसेकेन्ड ५० देखि १०० पटक चट्याङ पर्ने गरेको छ । यसबाट बार्षिक ६ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । विश्वको तथ्याङ्क हेर्दा सबैभन्दा बढी चट्याङ पर्ने देशामा अफ्रिकी मुलुक कंगो र मलावी छन् । मलावीमा प्रत्येक बर्ष प्रति १० लाखमा ८४ जनाको मृत्यु चट्याङबाट हुने गरेको छ । यानटिभी बाट





