March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

कालिञ्चोकको कुरीमा पर्यटकलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर

चरीकोट, दोलखाको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोक भ्रमणमा जाने पर्यटकलाई ध्यानदिँदै तारा दल गण दोलखाले कालिञ्चोकको कुरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

चरीकोट अस्पतालसँग सहकार्य गरी गणले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गणका क्याप्टेन रोशन बस्तेतले कालिञ्चोक भगवती मन्दिर दर्शनका लागि आएका भक्तजन तथा पर्यटकलाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिएका छन् ।

शिविरमा आइतबार ६० पर्यटकको स्वास्थ्य परीक्षण गरिएको थियो । मौसममा परिर्वतन आएसँगै कालिञ्चोक क्षत्रमा केही दिनअघि परेको हिमपातमा रमाउन आउने पर्यटकलाई हाई अल्टिच्युट (लेक लाग्ने) र श्वासप्रश्वासमा समस्या हुनका साथै स्वास्थ्यमा समस्या देखिने भएका कारण शिविर सञ्चालन गरिएको गणले जनाएको छ ।

हिउँ खेल्नका लागि उपयुक्त गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षत्र कालिञ्चोकमा शनिबार बाक्लो हिमपात भएको थियो । ३८४२ मटिरको उचाइमा रहेको यस क्षत्रमा हिउँ खेल्नकै लागि काठमाडौँ तथा तराईका विभिन्न जिल्ला र भारतदेखि पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गर्दछन् ।

शीर्ष समाचार

धेरै पढिएको