February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो

  • 1
    Share

काठमाडौं, नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । मुलुकभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन्  । 

गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा लोकनाथ भुषालले बताएका छन् ।

उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । उनले भने, “सेवाग्राहीले अनुकूल समयमा फारम भर्न सक्नुहुन्छ ।” गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो ।

निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भिड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन् । अहिले फारम भर्न नसकिने समस्या हटेर गएको प्रवक्ता डा भुषालले जानकारी दिएका छन् ।

“अहिले पनि बिहान र साँझभन्दा दिउँसोको समयमा फारम भर्ने सेवाग्राही धेरै छन्”, उनले भने, “फारम नै भर्न सकिएन भन्ने गुनासो बिस्तारै कम भएको छ ।” विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको