संसद विघटनविरुद्धका मुद्दाको बहस माघ ३० गतेभित्र सक्नुपर्ने

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद विघटनविरुद्धका मुद्दाको बहस यो हप्ता माघ ३० गतेभित्र सक्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भएको भनेर इजलाससमक्ष बहसका लागि अधिवक्ता रमेश बडाल उपस्थित भएपछि उनलाई आज जबराले बढीमा ३० मिनेटको समय दिएका थिए । जसमा बडालले आफूलाई त्यति समयले नहुने भन्दै समय बढाउनुपर्ने माग गरेका छन् ।
प्रधानन्यायाधीश जबराले धेरै समय दिन नसकिने प्रष्ट पार्दै भने, ‘तपाईंहरू हुनुहुन्छ । सभामुखको तर्फबाट र सहयोगी विद्वान् (एमिकस क्युरी) हुनुहुन्छ । यो हप्ताभित्र सबैले बहस सिध्याउनुपर्छ ।’
बडालले रिट निवेदकका कानुन व्यवसायीले जति समय लगाएका थिए त्यति समय आफूहरूलाई चाहिएको जिकिर गरे । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उपस्थित भएकाले पनि समय बढी दिनुपर्ने जोड गरेका थिए ।
उक्त माग अश्वीकार गर्दै प्रधानन्यायाधीशले त्यसो भन्न नपाउने भन्दै ‘रिट निवेदकले त फेरि पनि पाउनुहुन्छ समय’ भनेका थिए ।
प्रतिकृया दिनुहोस्