May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

एकता अभियानबाट म नेकपा दुवै समूहलाई एकतामा ल्याउँछु: उपाध्यक्ष गौतम 

  • 1
    Share

काठमाडौं, नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी फुट्न नहुने सन्देश दिएको बताएका छन् । उनले पार्टी एकता राष्ट्रिय अभियानलाई थओ बल पुगेको बताएका हुन् । 

पत्रकारसँग कुरा गर्दै सोमबार उनले भने, ‘आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।’ उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए ।

उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

‘त्यति बेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाइ नेकपा बनाएको थिएँ,’ उनले भने, ‘अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु ।’ उनले ओली र दाहाल–नेपाल समूह दुवैको जित हुने गरी अबको एकता हुने दाबी गरे ।

नेता गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि यही माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणाको तयारी गरेका छन् । एकता अभियानका संयोजकमा गौतम स्वय‌ं , सहसंयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा रहेका छन् ।

एकता अभियानसँगै नेता गौतमले लेखेका ‘जनताको बहुदलीय जनवाद’ (तुलनात्मक अध्ययन), ‘२१औं शताब्दीको कम्युनिस्ट पार्टी’, ‘नेपाली जनताको समृद्धिको कार्यक्रम र बहुदलीय समाजवाद’ नामक तीन पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

अभियान घोषणाको दिन ५१ केन्द्रीय सदस्य र १७५ कार्यसम्पादन समिति घोषणा गरिनेछ । उनले आफ्नो दुवै पक्षका ठूला नेताको साथ आफूलाई नभए पनि साना नेता भने साथ रहेको स्पष्ट पारे ।

उपाध्यक्ष गौतमले नेकपाको अन्तरिम विधानमा पनि सहमतिमै पार्टी चल्ने भएकाले कसैको इच्छा लाग्दैमा पार्टी फुटाउन नपाइने बताए ।

शीर्ष समाचार

धेरै पढिएको