May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

नेपाल प्रहरीको अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम सम्पन्न

  • 5
    Shares

काठमाडौं, नेपाल प्रहरीको अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालु आर्थिक वर्षको लागि प्रहरी महानिरीक्षकबाट प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुसँग गरिएको कार्य सम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षा कार्यक्रम बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयले स्पष्ट मार्ग निर्देशनसहित संगठनलाई एउटा निश्चित दिशा दिन कार्ययोजना ल्याएको चर्चा गर्दै यसलाई सफल पार्न सबैको सामुहिक प्रयास र कटिवद्धता आवश्यक रहेको बताएका छन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल सरकारद्वारा घोषित निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै अत्यधिक संयमताका साथ सुरक्षा योजना बनाई अगाडि बढ्नुपर्नेमा जोड दिए । समग्र तथ्याङ्कमा आधारित प्रस्तुतीकरणले स्वस्थ्य प्रतिस्पर्धा र व्यवसायिकीकरण झल्काएको उनले उल्लेख गरे ।

कार्ययोजनाको आधार तयार भएको सन्दर्भमा यसलाई पूर्ण सफल बनाउन तोकिएको जिम्मेवारीलाई मनन गरी गम्भीरतापूर्वक लाग्न उनले निर्देशन दिए । कार्यक्रममा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले प्रदेशको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापन, मानव स्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्बर्द्धन, सुरक्षा निकाय तथा अन्य निकायहरुको समन्वय र सहकार्यको प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नविनतम् कार्यको सुरुवात र कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे अर्धवार्षिक रुपमा सम्पन्न भएका कार्यहरुको विवरण भर्चुअल रुपमा प्रस्तुतीकरण गरेका थिए ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले नेपाल प्रहरीको कार्ययोजना, २०७७, कार्य सम्पादन सम्झौता र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना, २०७७ को अर्धवार्षिक कार्य प्रगतिको समीक्षा गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको