
हाल नेपालमा रहेका क्वारेन्टाइन शाैचालय, खानेपानीको सुविधा नभएको भन्ने गुनासाे अाइरहदा खानेपानी मन्त्रालयले शाैचालय बनाउने भएको छ । खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो ।
मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टाइनमा कति सङ्ख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ । मन्त्री विना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिवलगायतका व्यक्ति सहभागी बैठकले स्थायी र अस्थायी कुन प्रकृतिको शौचालय बनाउन उपयुक्त हुन्छ भनि छलफल गरिरहेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम हुँदासम्मका लागि अस्थायी शौचालय बनाउने कि त्यही शौचालय भविष्यसम्म प्रयोग गर्ने गरी स्थायी प्रकृतिको बनाउने भनी छलफल भइरहेको एक श्राेतले बताए । अधिकांश क्वारेन्टाइन विद्यालयमै रहेकाले त्यसलाई भविष्यसम्म प्रयोग गर्ने गरी निर्माण गर्ने एक सुझाव छ ।
त्यस्तै, छिटो निर्माण गरिसक्नुुपर्ने भएकाले अस्थायी नै बनाउने विषयमा पनि छलफल भएको छ । कम लगानीमा र छिटोे हुने भएकाले बोक्न मिल्ने शौचालयका विषयमासमेत सुझाव आएकाे बुझिएको छ । मन्त्रालयले केही दिनमा नै ‘मोडालिटी’का बारेमा टुङ्गो लगाएर यही महिनामा नै निर्माण गर्ने योजना बनाएको छ । एक श्राेतका अनुसार मन्त्रालयले ‘फास्टट्र्याक’ मार्फत निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।





