February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

स्वस्थानीको अर्थ के हो ?

  • 293
    Shares

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ ।

रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथामा प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गरी साष्टाङ्ग दण्डवत् गर्नु पर्दछ:–

सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।

यसको अर्थ सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड् ,चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी,यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।

शीर्ष समाचार

धेरै पढिएको