January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

कोरोना खोप नेपालमा यथाशक्य छिटो भित्र्याई निःशुल्क वितरण गर्न कांग्रेसको आग्रह

  • 28
    Shares

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको खोप नेपालमा यथाशक्य छिटो भित्र्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस, सूचना, सञ्चार तथा प्रचार केन्द्रीय विभागले कोभिड–१९ को उपचार र रोकथामलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गर्न तथा विश्व बजारमा आइपुगेको खोप भित्र्याई निःशुल्क उपलब्ध गराउन आग्रह गरेको हो ।

विभागको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले देशव्यापी रुपमा सञ्चालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउनका लागि मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले यसअघिको निर्णयानुरुप पार्टीको परिमार्जित रूपमा सार्वजनिक गरिएको वेबसाइटलाई अझ परिष्कृत गर्दै लैजाने, पार्टीका आठै संसदीय दल, जिल्ला कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्था एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिको वेबसाइट सञ्चालनका लागि निर्मित करीब डेढ सय ‘सब डोमेन’ को कार्यान्वयन प्रक्रियालाई आगामी माघ १५ गतेसम्म सार्थक गतिमा अघि बढाउने निर्णय गरेको छ ।

विभागले गत छ महिनायता हरेक मङ्गलबारदेखि शुक्रबारसम्म सांँझ ७.१५ बजे पार्टीको फेसबुक पेजबाट नियमित लाइभमा जारी खुला अन्तरक्रियाको कार्यक्रम ‘छहारी संवाद’ लाई निरन्तरता दिंँदै स्रोता क्लब गठन गर्ने निर्णय गरेको सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् । विभागले केही सदस्यको जिम्मेवारी हेरफेर तथा विभिन्न उपसमिति र कार्यदलसमेत गठन गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको