January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

बुटवलमा सडक क्षेत्र मिचेर बनाइएका संरचना भत्काउन शुरु

  • 4
    Shares

बुटवल, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक क्षेत्र मिचेर बनाइएका संरचना आइतबार बिहानवाट भत्काउन थालिएको छ ।

व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडकले अतिक्रमण गरी निर्माण गरिएका घर टहरा लगायतका संरचना भत्काउन शुरु गरेको हो । सर्वोच्च अदालतले सडक विस्तार गर्न बाटो खोलिदिएसँगै काम अघि बढाइएको आयोजनाले जनाएको छ ।

भत्काउनुअघि सडक अतिक्रमण गरी बनाइएका संरचना तथा घरटहरा खाली गर्न घरधनीलाई लिखित, माइकिङ तथा विद्युतीय माध्यमबाट सूचना दिइएको कार्यालयले जनाएको छ ।

अतिक्रमण गरी बनाइएका संरचना नहटाए कार्यालय आफैले हटाएर घरधनीसँग खर्च असुल उपर गरिने चेतावनी सडक आयोजनाले दिएको छ । राजमार्ग चौराहादेखि चिडियाखोला खण्डको साढे तीन किलोमिटर सडक घरधनीको अवरोधकै कारण लामो समयदेखि विस्तार हुन सकेको थिएन ।

आयोजनाले सडकको मध्य भागबाट दायाँ–बायाँ पच्चिस पच्चिस मिटर क्षेत्रभित्र बनेका संरचना खाली गराउन लागेको हो । उक्त सडकखण्डमा ३ सय १० घर र बाँकी ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक सीमा मिचेको तथ्यांक छ ।

शीर्ष समाचार

धेरै पढिएको