February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

श्रीराम सुगर मिलद्वारा उखु किसानलाई २५ करोड भुक्तानी

  • 20
    Shares

काठमाडौं, रौतहटको गरुडास्थित श्रीराम सुगर मिलले उखु किसानको बक्यौता रहेको रकममध्ये २५ करोड ३० लाख २७ हजार भुक्तानी गरिसकेको जनाएको छ ।

गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय, रौतहटले भुक्तानीमा कडाइ गरेपछि मिलले शुक्रबारबाट किसानलाई पैसा दिन थालेको हो । विगत चार वर्षदेखि भुक्तानी रोकेको मिल व्यवस्थापन पक्राउ पर्ने डरले किसानको खातामा पैसा पठाउन बाध्य भएका हुन् ।

मिलले शुक्रबार १६ करोड ४४ लाख ७० हजार किसानको खातामा जम्मा गरेको थियो । त्यस्तै, आइतबार थप ८ करोड ८५ लाख ५७ हजार किसानको खातामा पठाएको विज्ञप्तिमार्फत जानकारी दिएकोमा छ ।

सो मिलले राष्ट्रिय वाणिज्य बैंक र सेन्चुरी बैंकबाट किसानलाई खातामा पैसा पठाएको जनाएको छ । मिल व्यवस्थापनले बुधबारसम्म सबै किसानको बक्यौता चुक्ता गर्ने जिल्ला प्रशासनमा लिखित प्रतिबद्धता जनाएको छ । श्रीराम सुगर मिलबाट किसानले ४१ करोड भुक्तानी पाउनुपर्ने दाबी गर्दै आएका छन् । तर, मिल सञ्चालकले भने ३६ करोड मात्रै बक्यौता रहेको जिकिर गर्दै आएका छन् । 

मिलले वर्षौँसम्म भुक्तानी नदिएर झुलाएपछि किसानहरू अहिले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । उनीहरूको आन्दोलनपछि सरकारले चिनी मिलका सञ्चालकलाई छलफलमा बोलाएर भुक्तानी दिलाउन सक्रियता देखाएको छ । तर, उखु किसानले आफ्नो सबै बक्यौता भुक्तानी नभएसम्म आन्दोलन नरोक्ने दाबी गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको