
बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपियाँको बजेट ल्याएको छ । सार्वजनिक बजेटको ५१.१२ प्रतिशत अर्थात् २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार चालु र ४८.८८ प्रतिशत अर्थात् २५ अर्ब १४ करोड एक लाख ५९ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ । मन्त्री ढुङ्गेलले चालु आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपियाँको बजेट ल्याउनुभएको थियो । बजेटमा चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार रुपियाँ अर्थात् ५१ प्रतिशत, पुँजीगतर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात् ४८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३० करोड अर्थात् एक प्रतिशत विनियोजन गरिएको थियो ।
चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ५० प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको छ । गत वैशाख महिनासम्ममा चालु आर्थिक वर्षको लागि विनियोजन भएको कुल बजेटको २४.१८ प्रतिशत अर्थात् समष्टिगत रुपमा ११ अर्ब ५० करोड ८७ लाख ३६ हजार पाँच सय रुपियाँ खर्च गरेको बाग्मती प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौँडाले जनाएको छ । बाग्मती प्रदेश सभाको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै कोभिड १९ ले मानवीय सङ्कटसँगै आर्थिक गतिविधि प्रभावित बनाएको बताएका छन् । उहाँले कोभिड-१९ ले विकासको परम्परागत अवधारणामा परिवर्तन ल्याएको र रुपान्तरण आवश्यक भएको भन्दै समग्र विकास पद्धति र सामाजिक आर्थिक विकासको अभ्यासमा पुनःविचार गर्नुपर्ने अवस्था सिर्जना गरेको बताउनुभयो । अब नेपालले विकास र समृद्धिका लागि आफ्नै श्रोत, साधन र श्रम प्रयोग गर्नु आवश्यक भएको बताएका छन् ।
सङ्घीय सरकारले कर र सरकारका स्राेतहरू घट्ने भएपछि बजेटको आकार घटाएर बजेट ल्याएकोमा प्रदेश सरकारले बजेटको आकार बढाउँदै सार्वजनिक बजेटमा प्रदेश सरकार गठन भएपछि बाग्मती प्रदेश सरकारको यो तेस्राे पूर्ण बजेट हो । आर्थिक वर्ष २०७४/०७५ मा तीन महिनाको लागि बजेट ल्याएको थियो । आर्थिक वर्ष २०७५/०७६ को बजेट ३५ अर्ब ६१ करोड ५६ लाख रुपियाँ विनियोजन गरिएकोमा प्रदेश सरकारले करिब ६१ प्रतिशत मात्र खर्च गरेको थियो । आगामी आर्थिकका लागि अनुमान गरिएको खर्च व्यहोर्न कर राजस्वबाट २० अर्ब ८३ करोड ७९ लाख रुपियाँ, अन्तरसरकारी अनुदानतर्फ १७ अर्ब छ करोड नाै लाख अन्य राजस्वबाट पाँच अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ सात अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ ।
बजेट प्रस्तुत गर्दै मन्त्री ढुङ्गेलले आगामी आर्थिक वर्षमा राजस्व परिचालन गर्न कोरोना सङ्क्रमण जोखिमका कारण प्रभावित राजस्व क्षेत्रको पुनरुत्थान हुने गरी करका दरमा समाजोजन, छुट तथा सहुलियत प्रदान गर्ने नीति लिएको बताए। यस्तै प्रदेशभित्र रहेका करयोग्य क्षेत्रलाई करको दायरामा ल्याई करका संरचना तथा दरहरूलाई समय सापेक्ष बनाउँदै करको दायरा फराकिलो बनाउने, प्रक्रियागत सरलीकरण र सूचना प्रविधिको प्रयोग बढाई व्यावसायिक दक्ष, सुदृढ राजस्व प्रशासनको सुनिश्चितता गर्ने, राजस्व चुवाहट नियन्त्रण गर्ने र विद्यमान कानुनी व्यवस्थाअनुसार प्रदेशका कर एवम् गैरकरका क्षेत्रहरूको अध्ययन गर्न विज्ञसहितको कार्य दल गठन गरी प्रदेश सरकारको स्राेतहरूको खोजी गर्ने नीति दिइएको छ । उनले चालु आर्थिक वर्षको बजेट अनुसार योजना तथा कार्यक्रमहरू अपेक्षित गतिमा कार्यान्वयन गर्न नसकेको बताउँदै बजेट कार्यान्वयन गर्नै लाग्दा पछिल्लो समयमा कोभिड-१९ ले सिर्जना गरेका भयपूर्ण वातावरणका कारण विकासका कार्यक्रम स्थगित भएको बताए । चालु आर्थिक वर्षमा विनियोजित बजेटको तुलनामा ६२.६४ प्रतिशत अर्थात् २९ अर्ब ८२ करो ८५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको मन्त्री ढुङ्गेलले जानकारी दिए । यस्तै चालु आर्थिक वर्ष राजस्व परिचालन लक्ष्यको तुलनामा छ अर्ब ४१ करोड ५१ लख न्यून भई १६ अर्ब ३७ करोड ९७ लाख रुपियाँ हुने संशोधित अनुमान गरिएको छ ।






