March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

अलपत्र घाइतेलाई छल्दै लेन मिचेर हुइँकिए मुख्यमन्त्री

पूर्वपश्चिम राजमार्ग, मोरङको बेलबारी नगरपालिका-४ को हल्लुड चोकमा सोमबार साँझको ४ बजे सवारी दुर्घटनामा परेका दुई जना सडकमा लम्पसार परेका छन् । दुर्घटनामा परेका व्यक्तिलाई छल्दै, लेन मिचेर तीनवटा सरकारी नम्बर प्लेटका सवारी साधन साइरन बजाउँदै हुइँकिन्छन् ।

उद्धारको पर्खाइमा रहेका घाइते, प्रहरी तथा एम्बुलेन्सलाई खबर गरिरहेका यात्रुहरूले साइरन बजेको सुनेपछि एम्बुलेन्स आयो भनेर सन्तोक मानेका थिए । तर, साइरन बजाउँदै आएको गाडी त प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको रहेछ ।

उद्धारको पर्खाइमा सडकमा छटपटाइरहेका घाइतेलाई छल्दै मुख्यमन्त्रीको गाडी बेतोडले हुइँकियो । अगाडि जनपथ, पछाडि सशस्त्र प्रहरीको गाडी र बीचमा मुख्यमन्त्री सवार गाडी थियो । तीनवटै गाडीले सडकमा अलपत्र परेका घाइतेलाई बेवास्ता गर्दै हिँडे ।

झापाको कार्यक्रमबाट फर्किंदै गरेका मुख्यमन्त्री राई घाइतेलाई अलपत्र छाडेर, साइरन बजाउँदै गएको करिब १० मिनेटपछि मात्र उद्धारका लागि प्रहरी घटनास्थल पुग्यो ।

तर, यतिञ्जेलसम्म ढिलाइ भइसकेको थियो । घरबाट बजारतर्फ निस्कने क्रममा को३५ प. ५९७५ नम्बरको स्कुटरमा पूर्व-पश्चिम राजमार्ग पार गर्दै थिए, ४३ वर्षे अर्जुन खत्री र ६५ वर्षे दुर्गाप्रसाद भण्डारी ।

खत्री र भण्डारी सवार स्कुटरलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च २२४२ नम्बरको पिकअप भ्यानले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले बताएको छ ।

उद्धारका लागि प्रहरी घटनास्थल पुग्दा दुवै जनाको अवस्था गम्भीर थियो । प्रहरीले उपचारका लागि घाइतेलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषठानमा पठायो । समयमै उद्धार नहुँदा उपचारका क्रममा घाइते खत्रीको मृत्यु भएको छ ।

पिकअप भ्यान चालक ३० वर्षीय दिलसिंह राई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रण्मा रहेको प्रहरीले बताएको छ ।सभार शिलापत्र

शीर्ष समाचार

धेरै पढिएको