April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

रेडियो नेपाललाई पुरानै गरिमामा फर्काउनुपर्नेमा सञ्चारमन्त्री गुरुङको जोड

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले रेडियो नेपाललाई पुरानै गरिमामा फर्काउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले मंगलवार आयोजना गरेको दीर्घसेवा पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले संस्थालाई प्रतिस्पर्धीरुपमा अघि बढाउन कार्यरत सबै पक्षलाई आग्रह गरे ।

सरकारका प्रवक्ता गुरुङले राष्ट्रिय समाचार समिति रासस, रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रलाई प्रभावकारीरुपमा अघि बढाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिँदै सकारात्मक कुराको पहिचान गरी कमजोरी केलाउन रेडियो नेपाल परिवारलाई आह्वान गरेका छन्  ।

सो अवसरमा रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष एवं मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विविधतामा एकताको सन्देश बोकेर रेडियो जनताको घरआँगनमा पुगेको बताउँदै जनताले अनुभूति गर्ने गरी निजी क्षेत्रभन्दा राम्रो सेवा रेडियोका कर्मचारीलाई आह्वान गरे ।

“प्रविधिमा सुधार गरी चालू आर्थिक वर्षमा ९२ प्रतिशत नेपालीका घरआँगनमा रेडियोको सेवा पुर्‍याउने लक्ष्य छ, यसका लागि तालीमका कार्यक्रम पनि शुरु भएको छ, रेडियो र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने गरी सार्वजनिक प्रसारण विधेयक संसद्मा दर्ता भइसकेको छ, दुवै संस्थाका राम्रा कर्मचारीको वृत्तिविकासमा असर नपर्ने गरी काम हुन्छ”, सचिव बस्यालले भने ।

देशको सबै भूगोलमा रेडियोको सेवा पुर्‍याउने र नेपाल टेलिभिजनलाई अन्तरराष्ट्रियस्तरसम्म सेवा विस्तार गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी पनि उनले दिए । उनका अनुसार चारै सरकारी सञ्चारमाध्यमलाई थोरै जनशक्तिका भरमा धेरै सेवा दिने गरी अघि बढाउने योजनामा मन्त्रालयले काम गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको