March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

पशुपतिमा भोलि क्षमा पूजा गरिने, बुधबारबाट भक्तजनलाई मन्दिर खुला

काठमाडौं, विश्वव्यापी महामारी कोभिड-१९ का कारण नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो ।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिएका छन् । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।
“महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ”,उनले भने ।

नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक रुपमा बिरोध प्रदर्शन गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि मङ्गलबार पशुपति प्राङ्गणमा विशेष पूजा आराधना गर्ने तयारी गरेका छन् ।

लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको