सरकार र चिनी मिल उद्योगीबिच मन्त्रालयमा वार्ता जारी

काठमाडौं, पीडित उखु किसान दोस्रो पटक राजधानी केन्द्रित आन्दोलनमा उर्लिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगहरुलाई वार्तामा बोलाएको छ ।
आइतबारदेखि राजधानीको माइतीघर मण्डलामा आन्दोलन थालेका किसानहरुको आन्दोलनको दोस्रो दिन मन्त्रालयले आरोपित चिनी उद्योगहरुलाई वार्तामा बोलाएको हो । आज (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको वार्ता अहिले मन्त्रालयमा जारी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैंकुण्ठ अर्यालले जानकारी दिएका छन् ।
कसरी पीडित किसानको भूक्तानी चाडो भन्दा चाडो दिन सकिन्छ सो सम्बन्धमा सम्बन्धित चिनी उद्योगीहरुसँग छलफल शुरु भएको सचिव अर्यालको भनाई छ ।
हालसम्म विभिन्न चिनी उद्योगहरुले किसानको ९० करोड रुपैयाँ बराबरको भूक्तानी दिन बाँकी रहेको बताइएको छ । खासगरी किसानको भूक्तानी नदिने ६ वटा चिनी मिलका सञ्चालक तथा प्रतिनिधिलाई मन्त्रालयले वार्तामा बोलाइएको छ ।
अहिले उद्योगमन्त्री लेखराज भट्टको समेत सहभागितामा उद्योग र वाणिज्यतर्फका सचिवहरु तथा मन्त्रालयको वाणिज्य हेर्ने प्रतिनिधिसहित उद्योगीसंगको छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्