January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

मिथुन उल्कावर्षा आज रातभर सक्रिय रहने 

  • 2
    Shares

काठमाडौं, मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा आज राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन् ।

यो मिथुन उल्का वर्षा क्षुद्रग्रह तीन हजार २०० फेथनले अन्तरीक्षमा छाडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिने जनाइएको छ ।

उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बीर खिच्न सक्नेछन् । अवलोकनका लागि आज राति ८ बजेदेखि भोलिपल्ट बिहान ५ः३० सम्मको समय अनुकुल हुने बताईएको छ ।

मौसमले साथ दिएमा उल्का वर्षा हेर्नका लागि यो सन् २०२० कै उत्कृष्ट समय हुनेछ । यो उल्का वर्षा पुस २ गतेसम्म जारी रहने जनाइएको छ । उल्का वर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन ।

शीर्ष समाचार

धेरै पढिएको