January 19, 2021, Tuesday
२०७७ माघ ७, बुधबार

पत्रकारका लागि मासिक चार हजारका दरले पेन्सन दिने

  • 8
    Shares

मकवानपुर, नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । उक्त कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू हुने गरी सबैभन्दा पहिलोपटक गर्न लागिएको हो ।

पत्रकार महासङ्घ मकवानपुर शाखाका अनुसार कार्यसमिति बैठकबाट ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि, २०७७ पास गर्दै प्रतिपत्रकार मासिक रु चार हजारको दरले पेन्सन दिनका लागि थप प्रक्रिया कार्य अघि बढाइएको हो । पेन्सन दिनका लागि यसअघि हेटौँडा उपमहानगरपालिकाले कोषमा रु १० लाख उपलब्ध गराइसकको छ ।

उक्त रकम पत्रकार महासङ्घ मकवानपुर शाखाले वाणिज्य बैंकमा यसअघिनै खोलिएको खातामा जम्मा गरिएको छ । यही बैंकमा यसअघि मुद्दति खातामा रहेको रु दुई लाखसमेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको रु १० लाखको ब्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागार्इंले बताएका छन् । पेन्सनसम्बन्धी कार्यविधिलाई महासङ्घको यही मङ्सिर २६ गतेको साधारणसभाले पारित गर्नेछ ।

महासङ्घ मकवानपुर शाखामा आबद्ध सदस्यमध्ये ज्येष्ठ सदस्यको वृत्तिविकास गर्नका लागि पेन्सन दिन लागिएको हो । लगातार कम्तीमा २० वर्ष मुख्य पेशा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन लागिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको