January 23, 2021, Saturday
२०७७ माघ ११, आईतवार

विद्यार्थीको पहिलो रोजाइ बन्यो दरबार हाइस्कुल, विद्यार्थी सङ्ख्या ५८७ पुग्यो

  • 26
    Shares

काठमाडौं, नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ ।

क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र प्रशासक सरदार यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, पिनाकिप्रसाद आचार्यलगायत नेपालको पहिलो प्रतिभावान् शिक्षित पुस्ताको अध्ययनको थलो थियो दरबार हाइस्कूल ।

यसबाट निस्केका प्रतिभाहरुले नै उतिबेला नेपालको आर्थिक, राजनीतिक र सामाजिक खाका कोर्नमा अग्रणी भूमिका निर्वाह गरेका हुन् । त्यतिबेला नेपालमा यसको विकल्प थिएन तर राणाशासनको अन्तिमतिर जुद्धोदय र पद्मोदय जस्ता विद्यालय खुल्न थाले । सात सालको परिवर्तनपछि नेपालभर नै शिक्षालयहरु विस्तार भए पनि लामो अवधिसम्म दरबार हाइस्कूलको आकर्षण कायमै थियो ।

विद्यालय व्यवस्थापनमा राज्यको ध्यान जान छाडेपछि यसको अवस्था कमजोर बन्दै गयो । व्यवस्थापन फितलो भयो, भवन जीर्ण भयो र यसप्रतिको आकर्षण घट्दै गयो । पाँच वर्षअघिको गोरखा भूकम्पले यसलाई खण्डहरमा परिणत गरिदियो । अहिले प्रतापमल्लकालीन रानीपोखरी र जङ्गबहादुरकालीन दरबार हाइस्कूल दुवैको मुहार फेरिएको छ । अहिले ती सम्पदा झकिझकाउ देखिन्छन् ।

नेपाल सरकारले काठमाडौँ उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको सो ऐतिहासिक स्कूलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।

नयाँ भवनमा प्रयोशालासमेतको सुविधा रहेको र अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ । अहिले भानु माविका कक्षा ६, ७ र ८ मा विद्यार्थी सङ्ख्या निर्धारित सङ्ख्यामा पुगेको छ । काठमाडौँ महानगरपालिका वडा नं २७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि उक्त कक्षामा स्थान नै छैन । विद्यालयमा प्रतिकक्षा ३६ जना बस्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ ।


भवनको निर्माणसँगै भानु माविमा २८७ र संस्कृत माविमा ३०० गरी विद्यार्थी सङ्ख्या ५८७ पुगेको छ । विद्यालय नवीनतम प्रविधिमैत्री भएका छन् । विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई तालीम दिने कामसँगै विद्यालयको प्रचारप्रसारसमेत गरिरहेको छ । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण अहिले विद्यार्थीले घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन कक्षा लिइरहेका छन् । पहिले दुई विद्यालयमा गरी कूल ३०० विद्यार्थी थिए ।

“अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थीहरू आउने गरेका छन् । यसरी नै आकर्षण बढ्ने हो भने आगामी शैक्षिक सत्रसम्ममा सबै कक्षाहरू भरिने छन्”, सदस्य बज्राचार्यले भने । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिल जस्तै देखिन्छ । नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले छ जसमा ६० कक्षाकोठा छन् ।

भवनको डिजाइन ‘चाइना एभिएशन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसी निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताउँछन् । पुनःनिर्मित विद्यालय भवनको शिलान्यास २०७५ साल साउन १८ गते गरिएको थियो । चीन सरकारको पूर्ण सहयोगमा निर्मित उक्त भवनको निर्माण चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले गरेको हो ।

शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । लामो समयसम्म कामपा र पुरातत्व विभागबीच नक्शा पासका विषयमा केही मतान्तर भएकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियोे ।

शीर्ष समाचार

धेरै पढिएको