March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

नेपालमा प्रभाव बढाउन भारत र चिनकाे प्रतिस्पर्धा

file photo

समाचार विश्लेषण – भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किइरहँदा नेपाली भाषामै बोलेर प्रतिक्रिया दिए । नेपाली मूलकी आमा हरिमाया बस्नेतका छोरा श्रृंगलाले दार्जिलिङे लवजको नेपालीमा आफ्नो भ्रमण तालिका देखि उद्देश्यबारे संक्षिप्त जानकारी गराउँदा धेरैको ध्यानाकर्षण भयो ।

नेपालमा नातासम्बन्ध समेत रहेका श्रृंगलाले नेपाली भाषामा बोलेर नेपालसँगको निकटता प्रकट गरे । चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत ‘रेशम फिरिरी’ गाउँदा होस् या नेपाली भाषामा ट्वीट गर्दा समेत दंग पर्ने नेपालीहरु श्रृंगलाले नेपाली बोल्दा दंग नपर्ने सवालै छैन । विदेश सचिवका रुपमा पहिलोपटक काठमाडौं आएका श्रृंगलाले विगतमा पनि काठमाडौं आएको सुनाए । हिमालप्रेमी उनी सगरमाथाको बेस क्याम्पसमेत पुगेका छन् । शुक्रबार उनी गोरखा पुग्दैछन् । नेपालीहरु आफ्नो भाषा र संस्कृतिको माया र जर्गेना गर्छन् । यो तथ्य बुझेर होला विदेशी राजदूत देखि नेताहरुसम्म नेपालमा आउँदा या रहँदा नेपाली भाषा बोल्छन् ।

विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा शुरुमा बोल्दा नेपाली भाषामा बोलेका थिए । यसबाट उनको नेपालीमाझ लोकप्रीयता बढेको थियो । कुटनीतिमा अर्को देशको भाषा बोलेर समेत जनतामाझ मन जित्ने तरिका अपनाइन्छ । पछिल्लो समय नेपालमा रहेका कुटनीतिज्ञले पनि त्यही गर्न थालेका छन् । अर्को हेक्का राख्नुपर्ने विषय भारत र चीनका उच्च अधिकारीको लगातारको नेपाल भ्रमणको विषय पनि छ ।

भारतमा विदेश सचिव फर्किएको भोलिपल्ट चीनबाट रक्षामन्त्री आउने अनि बँगलादेश र पाकिस्तानको भ्रमणमा जाने । यो संयोगमात्र होला तर पछिल्लो समय सैन्य र कुटनीतिक तहबाट भारत र चीनबीच प्रभाव बनाउने प्रतिष्पर्धा चलेको छ । केही समय भारतले नेपालसँग उच्च कुटनीतिक तथा राजनीतिक तहमा संवाद नै बन्द गरेको थियो । तर, उसैले फेरि शुरु गरेको थियो । भारतले रअका प्रमुख सामन्त गोयललाई काठमाडौं पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण कुराकानीलाई अगाडि बढायो । लगत्तै सेनाप्रमुख मनोज मुकुन्द नरवाणे आए । गुप्तचर प्रमुख र सेना प्रमुखको लगातारको भ्रमणलाई भारतले नेपाल मामलामा सैन्य कुटनीतिलाई बढावा दिएको अर्थमा बुझ्न सकिन्छ । हुनपनि सैन्य तहमा कुराकानीपछि नेपालमा भारतले बिग्रिएको सम्बन्धलाई पुरानै अवस्थामा ल्याउन केही सफलता हासिल गरेको विश्लेषण दिल्लीमा हुनथालेको छ । राजनीतिक तहमा भन्दा सैन्य तहमा छलफल भारतले बढाएको छ ।

भारतको यही रणनीतिका कारण चीनले पनि रणनीति बदलेको छ । चीनका विदेशमन्त्री नेपाल आउने भनिएकोमा अचानक रक्षामन्त्री आउने भएका छन् । भारतका विदेश सचिव श्रृंगला आज नेपाल भ्रमणमा आएका छन् । उनी भोलि फर्कनेछन् । उनी फर्किएपछि शनिबार चिनियाँ रक्षामन्त्री वेई फङ्गह १२ घन्टाका लागि नेपाल आउँदैछन् । उनले महत्वपूर्ण भेटवार्ता गर्ने तय भएको छ । यसरी उत्तर र दक्षिणबीच नेपालमा प्रभाव बढाउने प्रतिष्पर्धा नै चलेको छ । भारत अमेरिकासँगको महत्वपूर्ण सैन्य सम्झौतापछि उत्साही छ ।

चीनको प्रभाव र चुनौती बढेको भन्दै अमेरिकाले भारतसहित जापान र अष्ट्रेलियासँग छलफल गरी क्वाड समूहलाई सक्रिय पारेको छ । यी देशले संयुक्त सैन्य अभ्यास समेत गरेका छन् । उनीहरुको उद्देश्य चीनको प्रभावलाई रोक्न र एशिया प्यासिफिक क्षेत्रमा प्रभाव बढाउने रहेको छ । यो रणनीतिलगत्तै भारतले छिमेकमा सक्रियता बढाएको छ । सैन्य तहमै संवादहरु बढाएको छ । अमेरिका र भारत मिलेर सैन्य गतिविधि बढाउन थालेपछि चीनले पनि सक्रियता बढाएको छ । चिनियाँ रक्षामन्त्री नेपालबाट पाकिस्तान र बँगलादेश जाने तय हुनु अर्थपूर्ण छ । नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री वाङ्ग यी स्टेट काउन्सिलर पनि हुन् । उनी चीनको मन्त्रिपरिषदका पाँचजना स्टेट काउन्सलरमध्ये एक हुन् । भारतले विदेश सचिव पठाउन लाग्दा चीनले रक्षामन्त्री नै पठाउँदैछ । यी दुईको भ्रमणलाई निकै चासो दिइएको छ । नरवणे अघि भारतको गुप्तचर निकाय रअका प्रमुख सीमान्त गोयल नेपाल आएका थिए । उनी एक रात नेपाल बसेका थिए । गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेका थिए ।

प्रोटोकल मिचेर प्रधानमन्त्री ओलीले गोयलसँग भेटेको भन्दै उनकै दल नेकपाभित्र आलोचना भएको थियो । पछिल्लो समय विकास भएका यी घटनाले नेपालमा छिमेकीको प्रभाव बढाउने प्रतिष्पर्धा नै चलेको छर्लंङ्ग भएको छ । कुनैबेला नेपाली नेताहरु दिल्ली र बेइजिङको दौडमा जाने गरेकोमा अहिले यी देशहरुबाट उच्च अधिकारीहरुको लगातारको भ्रमण अर्थपूर्ण छ । नेपालमा प्रभाव बढाउने रणनीतिक प्रतिष्र्धामा भारत र चीन निकै अगाडि बढेको स्पष्ट हुँदै गएको छ । रिपाेटर्स नेपाल

शीर्ष समाचार

धेरै पढिएको