May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

भारतका विदेशसचिव हर्षबर्धन नेपाल भ्रमणमा आउँदै

  • 16
    Shares

भारतका विदेशसचिव हर्षबर्धन शृंगला दुईदिने औपचारिक भ्रमणमा बिहीबार काठमाडौं आउँदै छन् । नेपाल र भारतबीच कूटनीतिक तहमा संवाद ठप्प भएका वेला गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेपछि विदेशसचिव शृंगलाको भ्रमण तय भएको हो ।

एक वर्षपछि दुई देशबीचको संवाद सुरक्षा र खुफिया एजेन्सीको तहबाट सुरु भई बल्ल औपचारिक कूटनीतिक च्यानलबाट सम्बन्ध अघि बढ्न खोजेको छ । कार्यभार सम्हालेको ११ महिनापछि भारतीय विदेशसचिवको यो परिचयात्मक भ्रमण हो ।

विदेशसचिव भएलगत्तै छिमेकी देशहरूको भ्रमणमा जाने परम्परा रहेकोमा दुई देशबीचको नक्सा विवाद एवं कोभिड– १९ महामारीका कारण विदेशसचिवको भ्रमण तय हुन झन्डै एक वर्ष लागेको हो । गत वर्ष भारतले कालापानी समेटेर पहिलोपटक नयाँ नक्सा जारी गरेपछि नेपालले कूटनीतिक रूपमा विरोधपत्र पठाएर वार्ताका लागि प्रस्ताव गरेको थियो । त्यसयता नेपालले निरन्तर वार्ताका लागि आग्रह गर्दै आए पनि भारतीय विदेशसचिवको भ्रमण हुन सकेको थिएन । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार एकै समयमा विज्ञप्तिमार्फत विदेशसचिव शृंगलाको नेपाल भ्रमण मिति सार्वजनिक गरेका हुन् ।

विदेशसचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, भारतीय दूतावासका अधिकारीहरू हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशसचिव शृंगलाले बिहीबार नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्दै छन् ।

वार्तामा परराष्ट्रसचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन् । परराष्ट्रसचिव पौड्यालको निमन्त्रणामा आउन लागेका शृंगलाले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । द्विपक्षीय वार्तामा नेपाल र भारतबीच सहयोगका बृहत् क्षेत्रहरूमा छलफल हुने परराष्ट्रले जनाएको छ । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको