December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

आज कुकुर तिहार, साँझ लक्ष्मी पुजा गरिँदै

  • 73
    Shares

काठमाडाैं, नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आज तेस्रो दिन अर्थात कुकुर तिहार हो । यसपटक कुकुर तिहार लक्ष्मी पुजा एकै दिन परेको छ । कात्तिक कृष्ण चतुर्दशी तिथिमा कुकुर तिहार मनाइने भए पनि आज बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि रहेकाले दीपावली गरी लक्ष्मीको पुजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ । लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत सरसफाइ गरिन्छ ।


लिपपोत गरी घर घरमा दीपावली गर्ने चलन छ । आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म लक्ष्मीको पाइला बनाएर बाटो समेत देखाइन्छ । केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक लक्ष्मीको पूजाराधना गर्ने प्रचलन छ ।

आज बेलुका समूह बनाएर घरघरमा भैलो समेत खेलिन्छ । तर कोरोना सङ्क्रमण जोखिमका कारण यसवर्ष भीडभाड र समूहमा भेला भएर भैलो नखेल्न सरकारले आग्रह गरेको छ ।

आजै घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाइँदैछ ।

शीर्ष समाचार

धेरै पढिएको