April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

राष्ट्रपतिद्वारा फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना व्यक्त

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्का रूपमा पनि लिन सकिने जनाउँदै राष्ट्रपतिले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वा व्यक्त गर्नुभएको छ ।

फाल्गुनन्द जयन्तीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारका अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।

किराँत धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्ष कात्तिक २५ गते उहाँ जन्मनुभएको पावन दिनका सम्झनामा जन्मजयन्ती मनाउने गरिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको