
वर्तमान अवस्थामा काेराेनाले विभिन्न खाले समस्याहरु निम्ताइ रहेकाे छ। जसकाे कारण स्वदेशमा मात्र नभएर बिदेशमा रहेका नेपाली हरु बढि समस्या मा रहेकाे देखिन्छ । सरकारले विदेशमा रहेका आफ्ना नागरिक ल्याउन लागि १० दिनका लागि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरेको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा अन्तर्राष्ट्रिय उडान खोल्नेबारे प्रस्ताव गएको छ । सम्भवतः उक्त प्रस्तावमा सोमबार निर्णय हुन सक्ने स्रोतले बताएको छ ।
हालसम्म नेपालबाट विदेश जाने नेपाली वा विदेशी नागरिकहरुका लागि चार्टर फ्लाइटमार्फत् उडान भइरहेको भए पनि नेपाल ल्याउनका लागि कुनै फ्लाइट भएको छैन । विदेशमा अलपत्र वा समस्यामा परेका नेपाली नागरिकहरुलाई ल्याउनका लागि चार्टर उडान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भइरहँदा पर्यटन मन्त्रालयको योजनामा सबै एयरलाइन्सलाई खुल्ला गर्ने गरी उडान गर्न दिने तयारी भइरहेकाे छ ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार उक्त प्रस्तावमा मन्त्रालयमा धेरैपटक छलफल भएको र नेपालमा उडान भर्ने सबै एयरलाइन्सलाई उडान गर्न दिने गरी १० दिनका लागि खुल्ला गर्ने प्रस्ताव उच्चस्तरीय समितिमा पुर्याएको बुझिएकाे छ ।





