
काेराेनाले थलिएकाे परिवेशमा सबैलाई विभिन्न खाले समस्याहरु आइपरेकाे छ तर याे समयमा सबै मिलेर अघि बढ्ने र समस्याको समाधान गर्नुपर्नेमा विभिन्न खाले भेदभाव हरु देखा पर्न थालेका छन् । यम्बुलेनस चालक र स्वास्थ्यकर्मी हरुमा तिरस्कार गर्ने खालका समस्या आइपरेकाे गुनासाे छ । कतै स्वास्थ्यकर्मीमा काेराना हुन्छ भन्दै घरबेटीले निकालेकाे पनि घटना आउने गरेकाे छ ।
हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्याउँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो।
लकडाउनमा जनकपुरबाट बिरामी बोकेर काठमाडौं हिँडेका एम्बुलेन्स चालकले खानाको त कुरै छाडौं, पानी समेत किनेर खान नपाएको चालक मन्सुर राईनले बताए। ‘बाटोमा अन्य सवारी साधनका चालकले खाना खाइरहेका हुन्छन्। एम्बुलेन्स चालक भनेपछि एम्बुलेन्स रोक्न समेत दिँदैनन्’, राईनले भने, ‘खानाका लागि कि त घरबाट टिफिन वा चाउचाउ बिस्कुट, दालमोठ, भुजिया बोकेर हिँड्नुपर्छ। बाटामा खुलेका पसलले एम्बुलेन्स रोक्ने बित्तिकै छिः छि दुरःदुर गर्छन्।’रात्रिकालिन सुनसान राजमार्गमा एम्बुलेन्स चालकले किराना पसलमा पानी माग्दा नपाएको गुनासो उनले सुनाए। साहुँजी दुई बोत्तल पानी दिनुस न। पसलेले पानी दिँदैनन्। पुनः एम्बुलेन्स चालक भन्छन्, प्लिज पानी दिनुस न। पसलेले बाहिरैबाट पानीको बोत्तल फालिदिन्छन्। यस्ता दृश्य आफूहरुले भोगिरहेको गुनासाे सुनाउछन् ।
एम्बुलेन्स चालक दिन रात नभनी जीवन दाउमा राखेर बिरामीको सेवामा खटिएका छन्। उनीहरूलाई न खाने ठेगान छ, न सुत्ने। एम्बुलेन्समै २४ घण्टा बित्ने गर्छ। तर जति असहज परिस्थितिमा खटे पनि कोरोना (कोभिड–१९) महामारीमा अपहेलित, अपमानित हुनुपरेको एम्बुलेन्स चालक मन्सुर राईनले सुनाए। उनले भने, ‘दिन–रात, गर्मी–जाडो, हावाहुरी नभनी बाह्रै मास सेवाका लागि फोनको घण्टीसँगै तुरुन्त सेवामा हाजिर हुने हाम्रो चरित्र हो, तर छरछिमेकी तथा इष्टमित्रबाट समेत अपहेलित र अपमानित हुनुपरेको छ।’
विगत पाँचवर्षदेखि एम्बुलेन्स चलाउँदै आएका जनकपुरका विमलेश चौधरीले समयमा खाना, पानी र सुत्न नपाए पनि कोरोनाबाट लड्न सुरक्षित उपकरण नहुँदा भयभित रहेको बताए। उनले भने, ‘हामी बिरामीको सेवाका लागि हरपल तयार छौं, तर आवश्यक पूर्वाधार तथा अस्पतालले बिरामीलाई भर्ना नलिँदा साह्रै पीडा हुन्छ।’एम्बुलेन्स चालक दिनरात बिरामीसँग सम्पर्कमा बस्नु परे पनि राज्यले आफूहरूका लागि सुरक्षाका सामग्री समेत उपलब्ध नगराएको गुनासोहरु गर्छन ।चालकहरु भन्छन् हामीलाई एम्बुलेन्स मालिकदेखि सरकारसम्म कसैले हेरेन, सामान्य ज्वारो, रुघा खोकीको बिरामीलाई समेत अस्पतालले भर्ना नलिँदा अस्पतालै अस्पताल धाउनुपर्ने समस्याबाट गुज्रिनु परेको छ।’ यो अवस्था एम्बुलेन्स चालकलाई मात्र होइन। अग्रस्थानमा रहेर काम गरिरहेका एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले समेत भोगिरहेका छन् । एजेन्सी





