
यतिबेला काेराेना भाइरसकाे महामारीले विश्वभरका मानिसकाे जनजिवन प्रभावित पारेकाे छ।त्यस्तै सरकारले विदेशमा विभिन्न समस्यामा गुज्रिएको नेपालिलाई स्वदेश फर्काउन शुक्रबारदेखि सुरु गरेकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट शुक्रबार साँझ बाहिर निस्कँदै गर्दा मकवानपुरकी उमा पाण्डेले हर्षको आँसु झारीन ।
दायाँ काखमा तीन महिनाको बच्चा र बायाँ हातले ट्रली गुडाइरहेकी पाण्डे तीन वर्षपछि जन्मभूमि फर्किंदाको खुुसी शब्दमा व्यक्त गर्न नसकिने प्रतिक्रिया दिइन । यूएईको दुबईस्थित होटल ‘रिसेप्सनिस्ट’ मा कार्यरत पाण्डेले कोभिड–१९ को महामारीसँगै जागिर मात्र गुमाउनु भएन, सुत्केरी अवस्थामा पोषिलो खाना खानबाट समेत वञ्चित हुनुप¥यो । परदेशको जोखिम र पीडाबाट मुक्ति पाएर जसरी आए पनि आफ्नो देशमा आइयो, अब जन्मभूमिमा केही दुःख गरी जीविकोपार्जन गर्ने योजना उहाँको छ । पाण्डे दम्पती नै स्वदेश फर्कनुभएको छ ।
मोरङका डकेन्द्र दर्नाल र काभ्रेका रमेश तामाङको हातमा न सुटकेश भएको ट्रली थियो न त ह्यान्ड क्यारी नै, दुवैको हात रित्तो थियो । एक वर्ष जेल सजाय काटेर बसेका डकेन्द्र र रमेशजस्तै १२÷१३ जना युवा यूएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको कागजपत्र र पीसीआर परीक्षण रिपोर्ट बोकेर फर्किएको छ । हामी त रित्तो हात फर्केका छौँ, काभ्रेका रमेशले भन्नुभयो, परदेशको कालकोठरीबाट आफ्नो देशमा फर्किन पायौँ सबैभन्दा खुसी त्यसैमा छौँ । के सपना बोकेर गएका थियौँ, कस्तो अवस्थामा फर्किनु पर्याे ।
सिराहका जितेन्द्र यादव र मुजादिन रहमान पनि शुक्रबार नै स्वदेश फर्किएकाे छ । उनका लागि कोभिड–१९ का कारण दुबईको बसाइ कष्टकर नै रह्यो । जितेन्द्र भन्नुहुन्छ, पैसाभन्दा प्राण प्यारो लाग्यो । कहिले जन्मभूमि नेपाल जान पाइएला र पेटभरि खान पाइएला जस्तै भयो, अर्का मुजादिन रहमानले बताए , सबै देशका नागरिक आ–आफ्नो देश फर्किंदा हामीलाई पनि नेपाल सरकारले फिर्ता लैजाला र भन्ने लाग्थ्यो । गाेरखा पत्र





