April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

विशाल ग्रुपको बदमासी: खाद्यवस्तुसँगै डन्डी पनि गुणस्तरहीन

काठमाडौं, पछिल्लो समय विवादमा आएको व्यापारिक घराना विशाल ग्रुपअन्तर्गतको कमला रोलिङ मिल्सले उत्पादन गरेको डन्डी पनि गुणस्तरहीन भेटिएको छ । म्याद गुज्रेका खाद्यवस्तु रि–लेबलिङ गरेर बेची मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको विशाल ग्रुपकै कम्पनी कमला रोलिङले मापदण्डविपरीतका डन्डी उत्पादन गरेर बेचेको भेटेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही प्रक्रिया अघि बढाएको छ । कमला रोलिङको एफई ५०० टिएमटी बार १० एमएम, १६ एमएम, २० एमएम र २५ एमएम डन्डीमा केमिकलको मात्रा बढी भेटिएको छ।

न्यून गुणस्तरको डन्डी बिक्री गरेको भेटिएपछि कमला रोलिङ मिल्सको इजाजत स्थगन गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘तोकिएको मापदण्डविपरस्त डन्डी उत्पादन गरेको भेटिएपछि उत्पादन रोक्न निर्देशन दिएका छौं,’ पुडासैनीले भने, ‘उद्योगलाई कानुनबमोजिम कारबाही गर्छौं ।’

कमला रोलिङ मिल्सबाट उत्पादित डन्डीमा सल्फरको मात्रा ०.०५५ प्रतिशत हुनपर्नेमा ०.०६ प्रतिशत ,फस्फोरसको मात्रा ०.०५५ प्रतिशत हुने पर्नेमा ०.०५९ प्रतिशत, सल्फर तथा फस्फोरसको मात्रा ०.१०५ प्रतिशत हुनुपर्नेमा ०.११९ प्रतिशत रहेको भेटिएको विभागले जनाएको छ । सल्फरको मात्रा बढी हुँदा रड कडा बन्छ। रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ ।

कमलाले उत्पादन गरेको डन्डीको गुणस्तरका विषयमा प्रश्न उठेपछि विभागले प्रयोगशालामा परीक्षण गरेको थियो। विभागले बजारान पठाएको डन्डी पनि फिर्ता ल्याउन आदेश दिएको छ । उत्पादन नेपाल गुणस्तर (प्रमाण चिह्न) अनुरुप नरहेकाले नियमावली २०४० को नियम १६ अनुसार कारबाही अघि बढाएको विभागका उपमहानिर्देशक दिनानाथ मिश्रले उद्योगलाई पठाएको पत्रमा उल्लेख छ ।

डन्डीमात्र नभएर विशाल ग्रुपले प्रवद्र्धन गरेका खाद्यवस्तु पनि मिति गुज्रिएपछि पुनः मिति थप गरेर बजारमा पठाई गम्भीर अपराध गरेको भेटिएको छ । विशाल ग्रुपले आयात गरेका बिस्कुट, चिप्स, चकलेटलगायतका वस्तु म्याद सकिए पनि पुनः म्याद थपेर बिक्री गर्ने गरेको भेटिएको छ ।नागरिक दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको