May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

छाउगोठ भत्काउने अभियान पुनः शुरु 

  • 2
    Shares

डोटी, सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि डोटीका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान शुरु गरिएको हो ।

गृहमन्त्रालयले गएको वर्ष पुस ९ गते यहाँका प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि छाउगोठ हटाउने अभियान चालिएको थियो तर गएको वर्ष चैत महिनादेखि देशव्यापी कोरोना कहर शुरु भएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा उक्त अभियान बन्द भएको थियो ।

अहिले यहाँका जिल्लामा छाउगोठ भत्काउने अभियान शुरु हुन थालेको छ । यसै सिलसिलामा डोटीको छिमेकी जिल्ला अछाममा शनिबार मात्रै पुनः नौवटा छाउगोठ भत्काइएको छ ।

छाउगोठ भत्काउने अभियानमा निस्किएको टोलीले जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका नौवटा छाउगोठ भत्काएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उनले भने, “कोरोना कहरका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिएको थियो, अहिले हामीले पुनः भत्काउन शुरु गरेका छौँ, एकै दिनमा हामीले नौवटा छाउगोठ भत्काएका छौँ ।” छाउपडी प्रथा मानेकै कारण दर्जनौँ महिलाले अकालैमै ज्यान गुमाएको तथा कयौँ किशोरी बलात्कृत भएको जान्दा जान्दै पनि छाउगोठ राखेको पाइएकाले पुनः भत्काउने अभियान शुरु गरिएको उनले जानकारी दिएका छन् ।

यसैगरी डोटीमा पनि छाउगोठ भत्काउने अभियान चाँडै शुरु हुने प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “कोरोना सङ्क्रमण फैलिनुभन्दा पहिले जिल्लामा भएका धेरै छाउगोठ भत्काइसकिएका छन्, कहीँकतै अझै राखिएका भए त्यसको जानकारी लिने काम भइरहेको र भेटिएको खण्डमा भत्काउने तयारीमा छौँ ।”

जिल्लामा कुन कुन ठाउँमा छाउगोठ राखिएका छन् त्यसको विषयमा जानकारी लिनका लागि सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

उनले भने, “जिल्लाका केही ठाउँमा छाउगोठ छन् भन्ने मौखिक खबर आएको छ, त्यो बारे बुझ्न टोली खटाएका छौँ, टोलीले खबर ल्याउने बित्तिकै भत्काउन शुरु गर्छौँ ।”

शीर्ष समाचार

धेरै पढिएको