February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

कर्णालीमा बाढीपीडितका लागि १२ करोड निकासा

कर्णाली, कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि रु १२ करोड निकासा गरेको छ । बाढी पीडितको घर निर्माणका लागि उक्त रकम निकासा गरिएको हो ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत रु ६१ लाख ८५ हजार राहत रकम पठाउनुभएको छ । यस्तै रु दुई करोड बराबरको विपद् सामग्री खरिद गर्न बोलपत्र आह्वान गरिएको छ ।

यसअघि विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकामा बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो ।

मुख्यमन्त्री शाहीका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ७१८ वडाका एक हजार ५५ आयोजनाको छनोट भएको छ । सञ्चारमाध्यमसँग उनले भने, “कर्णालीको बेरोजगारी र गरिबी समाधानका लागि बजेट छुट्टयाइएको हो । रोजगार कार्यक्रमका लागि छनोट भई आएका आयोजनाको कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहमा बजेट पठाइसकेका छौँ ।”

यसैगरी प्रदेश सरकारको ब्याज अनुदान कार्यक्रमतर्फ हालसम्म बैंकबाट २०९ र सहकारीबाट ६११ व्यवसायीले अनुदान लिएको र त्यसवापत रु एक करोड ५१ लाख प्रदेश सरकारले ब्याज भुक्तानी गरेको मुख्यमन्त्री शाहीको भनाई छ ।

शीर्ष समाचार

धेरै पढिएको