December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

भक्तपुरको चाँगुनारायणमा नगरपालिकामा ८० प्रतिशत पशु लम्पी स्किन सङ्क्रमित

गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई सङ्क्रमित बनेका छन् ।भक्तपुरको चार वटा नगरापालिका मध्य लम्पी स्किन रोग प्रकोपका कारण सबैभन्दा धेरै प्रभावित बनेको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई सङ्क्रमित बनेका हुन् । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका छन् ।

नगरपालिकाका पशुविकास अधिकृत खड्ककुमार मैनालीका अनुसार गाई भैँसीको मृत्युदर लिखित डाटामा कम भए पनि गाउँ घरमा जाँदा ठुलो सङ्ख्यामा रहेको देखिएको छ । उहाँले यो सङ्क्रमणको असर आगामी वर्षमा गाई भैँसीहरूमा गर्भधारण नभई उल्टी रहने बाँझोपनको समस्या आउन सक्ने भन्दै सचेत हुन आग्रह गर्नुभयो ।

यस्तै, नगरपालिकाभित्र ठुलो सङ्ख्यामा गाईको क्षति भएको बताउँदै किसानहरूलाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार, विज्ञ केन्द्र र पशु सेवा विभागलाई अनुरोध गर्दै पत्र लेखेका जानकारी समेत गराउनुभयो ।

मैनालीले भन्नुभयो, ‘‘अहिले चाँगुनारायण नगरपालिकाको सिनारीयो हेर्दा ८० प्रतिशत गाईमा क्षति पुगेको छ । जसले गर्दा दुध उत्पादन घटेको छ । अहिले गाईहरूमा कृत्रिम गर्भधारण भइरहेको छैन । त्यसको असर अर्को वर्ष देखापर्ने सक्छ । हामीले माथिल्लो निकायलाई अनुरोध गरेका छौँ । मृत्युदरको मात्रापनि ठुलो सङ्ख्यामा रहेको देखिन्छ । अहिले हामीले डाटा लिइरहेका छौँ । कम्पाइल गरेका छैनौँ ।’’

चाँगुनारायण नगरपालिकाका–९ वटै वडामा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदा पशुचौपायाको अवस्था भयावह बन्दै गएपछि नगरपालिकाले महामारीको नियन्त्रणका लागि घुम्ती सेवा सुचारु गरेको छ । घुम्ती सेवामार्फत किसानलाई परामर्श दिनुका साथै तथ्याङ्क सङ्कलन र निःशुल्क औषधि वितरणको काम भइरहेको छ ।

सोक्रममा चाँगुनारायण नगरपालिका पशुपन्क्षी विकास शाखाका डा. सौरभ गैलालले पशुपालन क्षेत्रमा रोग भित्रिन नदिन व्यवस्थापन, प्रजनन, आहार तथा स्वास्थ्यका क्षेत्रहरूमा असल पशुपालन अभ्यासको विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले लम्पी स्किन रोग लागेका गाई भैँसीको दुध खान हुन्छ वा हुन्न भन्ने किसानहरूको ठुलो प्रश्न रहेको भन्दै ढुक्क भएर खान अनुरोध गर्नुभयो । सङ्क्रमण नियन्त्रणका लागि एन्टिबाइटिक प्रयोग भएको गाई भैँसीमा भने सात दिनसम्म दुध खान नहुने उहाँको भनाइ छ ।

‘‘किसानहरूले दुध खान हुन्छ की हुँदैन भनेर जिज्ञासा राख्नुभयो । दुध त हामीले खान छोडिसक्यौँ, व्यवसायमा पनि अप्ठ्यारो भयो भन्ने सुनियो । त्यो चाहिँ भ्रम नै हो । दुधबाट सर्दैन, त्यति चाहिँ ढुक्क हुनुस् । यो मान्छेलाई नै सर्दैन । नितान्त गाई र भैँसीलाई लाग्ने हो । भैँसीलाई छिटपुट र गाईलाई धेरै लाग्छ यो रोग । भैँसीसँग यो रोग लड्ने क्षमता बढी छ भनेर बुझ्नुपर्‍यो । कहिले बाख्राहरूमा लाग्यो भनेर भ्रम फैलाउनुभयो ।,’’ उहाँले भन्नुभयो, ‘‘जस्तै: बाख्रामा गाठागुठी आयो, अलिअलि फोका देखियो अनि बाख्रालाई पनि लम्की लाग्यो की भनेर भन्नुभयो । त्यो चाहिँ एकदमै भ्रमको कुरा हो । बाख्रामा यो रोग लाग्दैन । तपाईँहरूले गाई र भैँसीमा लाग्ने रोग हो भनेर बुझ्नुपर्‍यो । यसमा पनि गाईमा मुख्य भैँसीमा एकदमै कम । रिपोर्टमा पनि भैँसीमा खासै लम्पी स्किन रोग लागेको पाएनौँ । गाईमा अलिक सिरीयस हुने अवस्था देख्यौँ ।’’

नगरपालिकाका पीडित किसानहरूले भने नगरपालिका भित्र वितरण हुने औषधि भनसुनका आधारमा पहुँचवाला व्यक्तिका घर परिवारलाई मात्र वितरण हुने गरेको तथा पशु चिकित्सकहरू पनि दरबन्दी अनुसार उपलब्ध नभएको लगाएका गुनासो गरेका थिए ।

पछिल्लो तथ्याङ्क अनुसार लम्पीबाट ७७ जिल्ला नै प्रभावित भएको छ भने आठ लाखभन्दा बढी पशु सङ्क्रमित भइसकेका तथा २७ हजारभन्दा बढी पशुको मृत्यु भइसकेको छ । नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार ३८ अर्बभन्दा बढी रुपियाँको आर्थिक क्षति भइसकेको छ ।

उक्त रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिँगान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठुला गिर्खा तथा फोका देखिन्छ । हाल भने उक्त महामारी केही हदसम्म कम हुँदै गएको विज्ञहरूको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको