November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

वाग्मती प्रदेशको अर्थसम्बन्धी विधेयक बहुमतले पारित

मकवानपुर, वाग्मती प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बिहान बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।

बैठकमा उक्त विधेयक पारित गरियोस् भनी आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रस्ताव टेबुल गरेका थिए । सो विधेयकमाथि सामान्य छलफल भई उठेका जिज्ञासामा मन्त्री ढुङ्गेलले सरकारले प्रस्तुत गरेको विधेयकमा करको दायरा बढ्दा पहुँचमा नरहेका सर्वसाधारण, निजी व्यवसायी र उद्यमीले कुनै कठिनाइ भोग्न नपर्ने तथा सरकारको कर राजस्व असुलीमा तीव्रता ल्याइने धारणा व्यक्त गरेका थिए ।

यसैगरी उनले प्रदेश सरकारले जनताको बृहत् हितका लागि चालिने कदम र राष्ट्रिय गौरवका आयोजनाको विनियोजित बजेट बाँडफाँट गरिँदा सत्ता र प्रतिपक्षी भनेर कसैलाई पनि उपेक्षा नगरी समान व्यवहारका साथ कार्यान्वयन गर्दै लैजाने दृढता व्यक्त गरे ।

बैठकमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव टेबुल गर्नुभएको थियो । ती दुवै प्रस्तावलाई बैठकले सम्बन्धित समितिमा पठाउन भनी स्वीकृति प्रदान गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको