
काठमाडौं, हिन्दु नेपालीहरुको महान चाड दशैंको चौथो दिन आज दुर्गा भवानीका ९ रुपहरु मध्येको चौथो रुप कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।
महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुम बिहानैदेखि भक्तजनहरुको घुइँचो लाग्ने गर्थ्यो तर यसपालि कोरोना सङ्क्रमणको त्रासका कारण शक्तिपिठ तथा मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ । प्रतिपदादेखि पूणिर्मासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो छातिमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको उत्पत्ति भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको जनविश्वास छ ।
यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।
कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।
शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।
राजधानीका गृहेश्वरी दक्षिणकाली नक्साल भगवती भद्रकाली नेपालगंजको बागेश्वरी सप्तरीको छिन्नमस्ता धरानको दन्तकाली पोखराको विन्धवासिनी डोटीको शैलेश्वरी बाग्लुङको कालिका गोरखाको गोरखकाली मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा गरिन्छ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।
उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामनालगायतका शक्तिपीठहरुमा विशेष पूजा गरिन्छ । कोरोना त्रासका कारण यो बर्ष सर्वसाधारणलाई मन्दिर प्रवेशमा भने रोक लगाइएको छ ।






