December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

कोरोना महामारीबिच कांग्रेसको महाधिवेशन होला त ?

काठमाडौं, कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण दिनानुदिन बढ्दै गइरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको विषयले नेताकार्यकर्ताहरुलाई पिरोल्न थालेको छ ।

दुई पटक महाधिवेशनको कार्यतालिका संसोधन गरेको नेपाली कांग्रेसले आउदो फागुन ७-१० गतेसम्म १४ औं महाधिवेशन गर्ने मिति तोकेको छ । पछिल्लोपटक बनाएको कार्यतालिका अनुसार काम गर्न असमर्थ रहेको कांग्रेस कोरोना महामारीबिच महाधिवेशन होला त ? तराई मधेसका साथै पहाडका धेरै जिल्लाले पार्टीको कार्यतालिका अनुसार काम गर्न नसक्ने मौखिक जानकारी पार्टी केन्द्रिय समितिलाई दिइसकेका छन भने अधिकांश नेता कार्यकर्ताले पनि फागुनमा अधिवेशन नहुने कुरा स्वीकार गर्न थालेका छन ।

यसैबीच केन्द्रीय सदस्य गगन थापा भन्छन्, ‘आजको दिन हामी ठोकुवा गरेर के भन्न सक्छौं भने कोभिड जुन रुपमा रहेपनि आउने फागुन मात्र होइन, वैशाख जेठसम्म पनि सरकारले भिडभाड नगरौं, २५ जनाभन्दा बढी भेला हुन पाइँदैन भन्छ । हामी भएपनि भन्थ्यौं । त्यसैले हामीले महाधिवेशन गर्ने तरिका बदल्नुपर्छ ।’

बुधबार भएको एक भर्चुअल छलफलमा सहभागी थापा मात्र होइन, उपसभापति, विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौलालगायतले पनि कोरोना महामारीकै बीचमा महाधिवेशन गर्ने उपाय खोज्नुपर्ने बताएका छन् ।

पूर्वमहामन्त्री सिटौलाले त फागुनमा महाधिवेशन हुने सम्भावना नदेखेको बताउँछन् । कतिपय जिल्लामा अन्तरिम संरचना नै बन्न बाँकी रहेको, कतिपय जिल्ला समितिले क्रियाशील सदस्यता वितरण तथा नवीकरण नथालेको जस्ता समस्या रहेको भन्दै उनले भने, ‘फागुनमा महाधिवेशन गर्न केन्द्रीय नेतृत्व तत्पर छ भन्ने विश्वास लाग्न पनि छाडिसक्यो ।’ त्यसलाई तत्काल नसच्याउने हो भने २०७८ सालको जेठमा पनि महाधिवेशन गर्न गाह्रो हुने सिटौलाले बताए ।

कोरोना महामारी सकिएपछि मात्र महाधिवेशन गरौं भन्ने हो भने अझै ३र४ वर्ष महाधिवेशन नहुने भन्दै उनले भने, ‘त्यसको सबैभन्दा ठूलो घाटा निर्वाचनमा हुन्छ ।’

त्यसैले कोरोना महामारीका बीच पनि कसरी महाधिवेशन गर्ने भन्रेबारे सोच्नुपर्ने उनले बताए ।

सिटौलाको यो भनाइमा सहमत नेता थापाले भने, ‘अधिवेशन गर्ने तरिका बदलौं, विकेन्द्रीकरण गरौं । यसो गर्दा केन्द्रमा हुने अधिवेशन वडावडामा गर्न सकिन्छ ।’

महामन्त्री शशांक कोइरालाले पनि विकेन्द्रीकरणको मोडलमा महाधिवेशन गर्न सकिने बताए । फागुनमा सम्भव नभए चैतसम्म धकेल्न सकिने भन्दै उनले भने, संविधानको व्यवस्थाअनुसार ६ महिना म्याद थप्दा कुनै कारणले त्यसबेला हुन सकेन भने संवैधानिक संकट आउँछ । चुनावमा पनि असर गर्छ ।’

भर्चुअल छलफलमा सहभागी उपभापति निधिले विकेन्द्रीकरणको मोडलका रुपमा नेपाल बार एसोसिएसनको अधिवेशनलाई अघि सारे । उनले भने, ‘जसरी बारको चुनाव हुन्छ, त्यसरी जानुपर्छ कि ? त्यसो गर्दा १६५ वटा निर्वाचन क्षेत्र वा जिल्ला जिल्लामा मतदान गर्ने जस्ता उपाय अपनाउन सकिन्छ होला ।’

तर संविधानअनुसार ६ महिना म्याद थप्न मिल्छ भनेर त्यसो गर्न नहुने उनको धारणा छ । ‘६ महिना म्याद थप्दा भदौ २० मा पुग्छौं । त्यो बेला पनि अधिवेशन गर्न सकिएन भने बैधानिक प्रश्न उठ्छ’ उपसभापति निधिले भनेका छन् ।

नेपाल बार एशोसिएशनको अधिवेशनमा देशका विभिन्न ठाउँमा तोकिएको मतदान केन्द्रबाट मतदाताहरुले केन्द्रीय समिति चयनका लागि मतदान गर्ने गर्छन् ।

महाधिवेशनको कार्यतालिका संशोधन गर्ने बेलामा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा पनि नेताहरु फागुनमा सम्भव नहुनसक्छ तर, वैशाख–जेठभन्दा पर लैजानु हुँदैन भन्नेमा सहमत देखिएको निधिले स्मरण गरे ।

महाधिवेशन कसरी गर्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्ने बेला भएको उनले बताए । त्यसका लागि सभापति देउवासमेत तयार रहेको र, उनकै निर्देशनअनुसार आफूले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भर्चुअल बैठक वा सबै केन्द्रीय सदस्यको पीसीआर टेष्ट गरेर बैठक बस्ने विकल्पबारे परामर्शसमेत गरेको उपसभापति निधिले जानकारी दिएका छन् ।

उनले भने, ‘रामचन्द्रजीले जुम हुन्न, बरु सबै सांसदको जस्तै पीसीआर गरौं भन्नु भएको छ ।’ अरु नेताहरुसँग पनि छलफल गरेर निर्णयमा पुग्ने निधिले बताए ।

एक पदाधिकारीका अनुसार भदौ २४ को वीपी जयन्तीलगत्तै पदाधिकारी र केन्द्रीय कार्यसमितिको बैठक बस्ने तयारी छ । र, त्यो बैठकले कोरोना महामारीका बीच पार्टीको १४ औं महाधिवेशन कसरी गर्ने भनेर निष्कर्ष निकाल्नसक्छ ।


शीर्ष समाचार

धेरै पढिएको