April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

पुजारी हत्याको मुलकारण लेनदेन विवाद, घटनास्थलमा भब्य मन्दिर र प्रहरीचैकी स्थापना गरिने

रौतहट, रौतहटको माधवनारायण नगरपालिका, खेसरहिया गाउँछेउको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या लेनदेनको विवादकै कारण भएको तथ्य प्रकाशमा आएको छ । एकजना ऋणीसँग ब्याजको विषयमा विवाद हुँदा पुजारी साहको हत्या भएको प्रदेश २ प्रहरी कार्यालयले खुलासा गरेको हो ।

भदौ ३ गते माधवनारायण नगरपालिका–२ खेसरहिया चोकस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको कन्चटमा गोली हानेर हत्या गरिएको थियो । हत्याको आरोपमा दुईजना अभियुक्त पक्राउ परेपछि हत्याको मुलकारण खुलासा भएको हो ।

अभियुक्त मध्येका राम नरेश पटेलका बुवाले पुजारीसँग  व्याजमा लिएको रकम तिर्ने क्रममा व्याजकाबारेमा विवाद भएको प्रहरीको भनाइ छ । सोही विषयलाई लिएर नरेश भन्ने राम नरेश राउत पटेल र बाल कुमार पटेललगायतका व्यक्तिले पुजारीको हत्या गरेको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले बताए ।

घटनास्थलमै भब्य मन्दिर निर्माण हुँदै
संघीय सांसद प्रभु साहको पहलमा करिब ५ वर्षअघि देवाही टोलदेखि खेसरहिया हुँदै गौर–चन्द्रपुर सडकखण्डमा नयाँ बाटोको रुपमा जोडिएको थियो । साथै नजिकै रहेको कामदेई खोलामा दुुईवटा पुलसमेत निर्माण भएको थियो ।
उनकै पहलमा हाल शहरी विकास मन्त्रालयबाट टेण्डर भएर उक्त बाटो कालोपत्रे भईरहेको स्थानीय गंगाराम पटेलले बताए ।

सडक निर्माणपछि सो स्थानमा पसलहरु खुलेका छन् भने तीन वर्ष अघि आफ्नै लगानीमा पुजारीले हनुमान मन्दिर निर्माण गरेका थिए । त्यसपछि सो क्षेत्रमा साताको दुई दिन आईतबार र बुधबार हाटबजार पनि लाग्ने गरेको छ ।
तर पुजारी हत्यापछि उक्त क्षेत्रका मानिसमा त्रास उत्पन्न भएको छ । चोकको विकासका लागि र ब्यापारीको सुरक्षा तथा मनोबल बढाउन सांसद प्रभु साहको पहलमा सो स्थानमा करीब ५५ लाखको लागतमा भब्य हनुमान मन्दिर निर्माण गर्ने र प्रहरीचौकी स्थापनासमेत हुने भएको छ ।

सोही योजना अनुसार मौलापुर नगरप्रमुख रिनाकुमारी साहले केही दिनअघि खेसरहिया चौकमा विधिवतरुपले हनुमान मन्दिरको शिलान्यास गरिसकेकी छिन् । मन्दिरको निर्माणकार्य केहीदिनमै सुरु हुने नेकपा प्रदेश २ का सदस्य एवं स्थानीय समाजसेवी त्रिभुवन साहले जानकारी दिए ।

सो स्थानमा प्रहरीचौकी निर्माणका लागि जिल्ला प्रशासन कार्यालयमार्फत प्रकृया अगाडि बढाईएको छ । मन्दिर शिलान्यासको अवसरमा त्यहाँ पुुगेका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले खेसरहिया चोकको सुरक्षार्थ स्थायी प्रहरी चौकी निर्माणका लागि प्रकृया अगाडि बढाईसकेको जानकारी दिएका थिए । तत्काल सो स्थानमा सुरक्षाको लागी दुुईजना प्रहरी २४ सै घन्टा ड्युटी गरिरहेको प्रजिअ यादवले जानकारी दिए । सभार रातोपाटी

 


शीर्ष समाचार

धेरै पढिएको