December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

भरतपुर अस्पतालबाट प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल

भरतपुर, भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भीर सङ्क्रमितहरुका लागि रक्तदान गर्न अपिल गरिएको हो । कोभिड सङ्क्रमित भई आइसोलेसनबाट निको भएकाले १४ दिनपछि रगत दिन सक्छन् ।

अस्पतालले प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचारका लागि तयारी गरिसकेको छ । कोरोनाभाइरस सङ्क्रमित केही व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि यो विधिबाट उपचार गर्न देशका विभिन्न अस्पताललाई सरकारले अनुमती दिएको छ । भरतपुर अस्पतालका फिजिसियन डा. कल्याण सापकोटाले जटिल प्रकारका सङ्क्रमितको सङ्ख्या बढिरहेकाले उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएकाले रक्तदानका लागि अनुरोध गरिएको बताएका छन ।

निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोनाभाइरसबाट हुने मृत्युदर कम हुने डा सापकोटाले बताउनुभयो । प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो । अठार वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् ।

शीर्ष समाचार

धेरै पढिएको