प्रहरी महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले पर्सि बिहिवारदेखि लागू हुनेगरी नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो ।

२०५४ सालको चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ सालको चैतसम्म प्रहरी महानिरीक्षकमा रहनुहुनेछ । कार्की अहिले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख हुनुहुन्छ ।

गएको भदौ २४ गते भएको जेनजी आन्दोलनकै दिन उहाँले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाउनुभएको थियो । ३० वर्षे सेवा अवधिकै कारण अहिलेका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाशमा जाँदै हुनुहुन्छ । नवनियुक्त महानिरीक्षक कार्की गएको वैशाख १५ गते डीआईजीबाट एआईजीमा बढुवा हुनुभएको थियो । त्यसको ६ महिनापछि उहाँ प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएको हो ।