एमालेभित्र संसद् पुनस्थार्पनाको आवाज बलियो

एमालेभित्र संसद् पुनस्थार्पनाकै आवाज बलियो रूपमा उठेको छ । १०औँ केन्द्रीय कमिटी बैठकमा धेरैजसो केन्द्रीय सदस्यले प्रतिनिधिसभा पुनस्थार्पनाको पक्षमा आफ्नो मत राखेका छन् ।
देशलाई संवैधानिक सङ्कटबाट बाहिर निकाल्न संसदलाई चलायमान बनाएर सबै एक ठाउँमा उभिनुपर्ने केन्द्रीय सदस्यहरुको भनाइ छ । फागुन २१ गतेका लागि तय भएको चुनावमा भाग लिनुपर्ने विषयमा पनि केन्द्रीय सदस्यहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा बोल्ने धेरैजसो केन्द्रीय सदस्यले महाधिवेशनको मिति तय भइसकेको भन्दै पहिले पार्टी पुनर्गठनको मुद्दा टुङ्गो लगाउनुपर्ने बताएका छन् । हिजो बोल्ने केही केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीकोे राजीनामाका साथै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने माग पनि गरेका छन् । बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष ओलीले आउँदो मङ्सिर २७ गतेदेखि २९ गतेसम्मका लागि पोखरामा महाधिवेशन प्रस्ताव गरिसक्नु भएको छ ।
यस्तै नेपाली कांग्रेस नियमित महाधिवेशन गर्ने योजनामा अघि बढेको छ । बहुमत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर सङ्कलन गरी कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाए पनि कांग्रेस अहिलेसम्म नियमित महाधिवेशनको बाटोमा अघि बढ्ने योजनामा छ ।
विशेष महाधिवेशनका लागि दुई हजार चार सय ८८ जनाको हस्ताक्षर बुझाइएको छ । नेपाली कांग्रेसको पार्टीे विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।


प्रतिकृया दिनुहोस्