काठमाडौंका १२६ प्रहरी युनिटममा क्षति,तत्काल सुचारु गर्न मुस्किल

जेनजीको प्रदर्शनका क्रममा काठमाडौंका १२९ प्रहरी युनिटमध्ये १२६ वटामा क्षति पुगेको छ । तीनवटा प्रहरी वृत्तहरू क्रमश: स्वयम्भू, बानेश्वर र गौशाला पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।यी वृत्तका सवारीसाधनदेखि सम्पूर्ण भौतिक वस्तु जलेर नष्ट भएका छन् । अहिले यी वृत्तसँगै बौद्ध, प्रहरी बीट नयाँ बसपार्क, प्रहरी प्रभाग साँखु, प्रहरी प्रभाग गोकर्णेश्वर, कोटेश्वर प्रभाग, काँडाघारी प्रभाग, प्रहरी चौकी नाङ्लेभारे, जिल्ला अदालत काठमाडौं र जिल्ला प्रशासन कार्यालयमा राखिएका प्रहरी बीट पनि मातहत निकाय भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंबाटै सञ्चालित छन् ।
आगजनी र तोडफोडपछि धेरै प्रहरी युनिटमा तत्काल प्रहरीले कामै गर्न नसक्ने अवस्था छ । प्रहरी वृत्त महाराजगञ्ज मातहतका प्रहरी प्रभाग नयाँ बसपार्क, प्रहरी प्रभाग तिलिङ्गेटार, प्रहरी प्रभाग टोखा, प्रहरी बीट गोल्फुटार, प्रहरी बीट सुकेधारा, प्रहरी बीट पञ्चकन्या र प्रहरी बीट दीपज्योतिमा तत्काल प्रहरी गएर कामै गर्न नसक्ने अवस्था छ ।
बौद्ध वृत्तअन्तर्गतका प्रहरी प्रभाग गोकर्ण, प्रहरी चौकी जोरपाटी, प्रहरी प्रभाग बूढनीलकण्ठ, प्रहरी चौकी नाङ्लेभारे, प्रहरी बीट मूलपानी, प्रहरी बीट अर्यालगाउँ, प्रहरी बीट नयाँबस्ती, प्रहरी बीट माकलबारी, प्रहरी बीट महांकाल, प्रहरी बीट जम्बुडाँडा, अस्थायी प्रहरी बीट सुन्ताखान, प्रहरी बीट स्तुपा, प्रहरी बीट आकाशेधारा र अस्थायी प्रहरी बीट गागलफेदीमा पनि तत्काल प्रहरी पुगेर कामै गर्न नसक्ने अवस्था छ ।
जिल्ला प्रहरी परिसरका अनुसार प्रहरी वृत्त गौशालाअन्तर्गत प्रहरी प्रभाग गंगाहिटी, प्रहरी बीट गौरीघाट, अस्थायी प्रहरी बीटहरू शम्भुमार्ग, पशुपति, पञ्चकुमारी, रातोपुल, कालोपुल, भत्केको पुल र पुरानो बानेश्वरका कार्यालय पनि आगजनी र तोडफोड भएका छन् । त्यहाँ अहिले प्रहरी पुगेर काम गर्ने अवस्थामा नरहेको परिसरले जनाएको छ ।
प्रहरी वृत्त बानेश्वर त परिसरबाटै सञ्चालनमा छ । यो वृत्त मातहतका प्रभागहरू कोटेश्वर, काँडाघारी, प्रहरी चौकीहरू बुद्धनगर, नरेफाँट र प्रहरी बीटहरू क्रमश: देउराली क्लब, कारेश्वर, नारायणेश्वर, रत्नराज्य, नरेफाँट, झोलुङ्गेपुल, खरीबोट, वीरेन्द्र चोक, नागेश्वर र कृष्ण मन्दिर बीटमा पनि प्रहरीका सम्पूर्ण भौतिक संरचना जलाइएका छन् ।
परिसरका अनुसार कालीमाटी वृत्त अन्तर्गतका प्रहरी चौकी स्युचाटार, प्रहरी प्रभागहरू कलंकी, बल्खु, प्रहरी बीटहरू कुलेश्वर, टेकु, बाफल, ताहाचलमा पनि प्रहरी पुगेर काम गर्ने अवस्था छैन ।कीर्तिपुर वृत्तका प्रहरी आफ्नै कार्यालयमा फर्किएपनि यस मातहतका प्रहरी प्रभागहरू ट्याङ्लाफाँट र चाल्नाखेल, प्रहरी चौकीहरू कीर्तिपुर, भण्डारखर्क, अस्थायी प्रहरी पोस्ट फर्पिङ, हुमानेभञ्ज्याङमा पनि प्रहरी काममा फर्किने अवस्था छैन ।
प्रहरी वृत्त थानकोट र मातहतका कार्यालयहरू तोडफोड भएपनि अहिले स्थानीय र प्रहरीले सरसफाइपछि प्रहरीहरू कार्यालयमा काममा फर्किएका छन् ।
प्रहरी वृत्त स्वयम्भू मातहतका प्रभागहरू क्रमश: सीतापाइला, प्रहरी चौकी भीमढुंग, अस्थायी प्रहरी बीटहरू क्रमश: चागल, हलचोक, शोभाभगवती, रानीवन, विन्दवासिनी र बाफलमा अहिले प्रहरी पुगेर काम गर्न नसक्ने देखिएपछि सरसफाइको काम हुँदैछ ।
प्रहरी वृत्त बालाजुले काम सञ्चालन गरे पनि यस मातहतका प्रहरी चौकी धर्मस्थली, मुड्खु, प्रहरी प्रभाग नेपालटार, अस्थायी प्रहरी पोस्ट तीनपिप्ले, साङ्ला, बोहोराटार, प्रहरी बीटहरू क्रमश: वनस्थली, वसन्तनगर र चमतीमा प्रहरी पुगेर काम गर्न सक्ने अवस्था छैन ।
प्रहरी वृत्त लैनचौर क्षति नभई पूर्ण रूपमा सञ्चालनमा छ । यस मातहतका प्रहरी बीटहरू म्हेपी, ढल्कु, रानिबारी, कपुरधारा र क्षेत्रपाटीमा क्षति पुगेको ।प्रहरी वृत्त दरबारमार्ग मातहतको केशरमहल बीटमा मात्रै क्षति पुगेको छ । जनसेवा वृत्त मातहतका अस्थायी प्रहरी बीटहरू क्रमश: सुन्धारा, असन, ताम्सिपाखा, यंगाल र पाकोमा क्षति पुगेको छ ।
प्रहरी वृत्त सिंहदबारका केही कागजपत्र बाहिर ल्याएर जलाएपनि कार्यालयमा भने कुनै क्षति नभएको परिसरले जनाएको छ । यस मातहतका अस्थायी प्रहरी बीट भृकुटीमण्डप, थापाथली बीट र रुद्रमती बीट प्रदर्शनकारीले जलाइदिएका थिए ।
प्रहरी वृत्त मालिगाउँमा पनि खासै क्षति पुगेको छैन । तर, प्रदर्शनकारीले यस मातहतका प्रहरी प्रभाग बालुवाटार, प्रहरी बीटहरू गहना पोखरी, कालोपुल, चाइनिज कन्सुलर, अस्थायी प्रहरी बीटहरू प्रज्ञाभवन, ललितकला प्रतिष्ठान र नाट्यकला प्रतिष्ठान जलाइदिएका छन् ।परिसरसँगै मातहतका १४ वटा वृत्तमध्ये दुई वटा र नगर प्रहरी कार्यालय मात्रै क्षति नभई पूर्ण रूपमा सञ्चालनमा रहेका छन् ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराका अनुसार १७ वटा युनिटमा मात्रै प्रहरीहरू फर्किएका छन् । प्रहरी कार्यालय क्षति भएर नजिकका अन्यस्थानबाट चारवटा प्रहरी युनिट सञ्चालनमा छन् । ९४ वटा युनिटमा तत्काल प्रहरी पुगेर काम गर्न सक्ने अवस्था छैन । पूर्ण रूपमा ४१ वटा, आंशिक रूपमा ४२ वटा र बाँकीमा सामान्य क्षति भएको परिसरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्