
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक काठमाडौं–ग्वाङ्जाओ–काठमाडौं सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता मनोज साहका अनुसार निगमले लामो तयारीपछि चीनको यो महत्वपूर्ण सहरलाई आफ्नो गन्तव्यमा समेट्ने निर्णय गरेको हो ।
निगमले पहिलो उडान असोज ९ गते गर्नेछ भने दोस्रो उडान असोज १२ गते हुनेछ । त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते पनि उडान हुने तय भएको छ । नियमित तालिका अनुसार निगमले हरेक आइतबार, मंगलबार र शनिबार काठमाडौं–ग्वाङ्जाओ उडान गर्नेछ ।
साहले भने, ‘चीनतर्फको यो नयाँ गन्तव्य सुरु भएपछि राष्ट्रिय ध्वजाबाहक रोज्ने यात्रु सहज हुनेछन् ।’काठमाडौं–ग्वाङ्जाओ उडानको भाडादर एकतर्फी ३० हजार र दोहोरो ५० हजार तोकिएको निगमले जनाएको छ ।
हाल निगमसँग रहेका दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, यूएईको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र वैङ्लोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा नियमित उडान भइरहेको छ ।
निगमले काठमाडौँबाट कोरिया र अष्ट्रेलियामा समेत सिधा उडान गर्ने तयारी गरे पनि ती गन्तव्यका लागि भने अनुमति पाउन बाँकी रहेको जनाएको छ ।





