
आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएपछि अहिले यात्रुहरूको भीड लागेको छ ।रोजगारी खोज्दै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ठुलो सङ्ख्याका युवा अलपत्र परेका छन् । सोमबारदेखि जारी जेन जी पुस्ताको आन्दोलनका कारण रोजगारी खोज्दै विदेश जाने तयारीमा रहेका युवा अलपत्र परेका हुन् । सोमबारको टिकट भएका केहीबाहेक अधिकांश उड्न सफल भए पनि मङ्गलबार र बुधबारको टिकट भएका चार हजारभन्दा बढी युवा विदेश जान रोकिएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै मङ्गलबारदेखि बन्द हुँदा विदेश जान हिँडेका युवा प्रभावित भएको जानकारी दिनुभयो । तथापि बुधबार अपराह्नबाट भने विमानस्थल खुला भएको छ ।
मङ्गलबार र बुधबारको टिकट भएका युवा कफ्र्युका कारण विमानस्थल बन्द भएर उडान स्थगन भएपछि टिकट र काम गुम्ने जोखिम रहँदारहँदै पनि महँगो शुल्क तिरेर गेस्ट हाउसमा बस्न बाध्य छन् । यो समयदेखि सामान्य हुन्छ भन्ने अवस्था नरहेकाले बिदामा आएर एक/दुई दिनभित्र विदेश पुग्नुपर्ने श्रमिकको अवस्थामा अन्योल रहेको सङ्घले जनाएको छ ।
वैदेशिक रोजगार विभागबाट दैनिक औसतमा दुई हजार दुई सय जनाले श्रम स्वीकृति लिने गरेका छन् । मङ्गलबार छिटफुट रूपमा काम भए पनि बुधबार त श्रम कार्यालयमा नै आगजानी भएपछि श्रम स्वीकृतिको कामसमेत प्रभावित भएको छ । वैदेशिक रोजगार विभागको कार्यालयमा पनि आंशिक रूपमा आगजनी भएको जनाइएको छ । जेन जी पुस्ताको आन्दोलनमा मङ्गलबार साँझ कार्यालयको एउटा भवनमा आंशिक क्षति पुगेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विभागको संवेदनशील संरचना भने आगलागीबाट जोगिएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन वटा ब्लकमध्ये एउटामा क्षति पुगेको छ । श्रम स्वीकृति प्रदान गरिने संरचनामा क्षति पुगेको छैन ।
विद्यमान विशेष परिस्थितिका कारण देशमा भएको निषेधाज्ञा तथा कफ्र्युका कारण विभागबाट प्रदान हुने श्रम स्वीकृति, अनुसन्धान तथा मुद्दाको व्यवस्थापन, राहत र उद्धारलगायत अत्यावश्यक सेवा प्रदान गर्न केही कठिनाइ भएको उहाँको भनाइ छ ।
यस्तै विभागबाट अनलाइन तथा फोनबाट प्रदान गर्न सकिने सेवा घरबाटै उपलब्ध गराइरहेको पनि महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । विभागका अनुसार अवस्था सामान्य नभएसम्म विभागका कर्मचारीले घर (वर्क फम होम) बाट सेवा प्रवाहको काम गर्ने सर्कुलर भएको छ । विभागबाट अन्तिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जान सकिन्छ ।
विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल आज साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेपछि अहिले विदेश जाने यात्रुहरूको भीड बढेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आन्दोलनका कारण मङ्गलबार दिउँसो ३ः३० बजेदेखि विमानस्थल बन्द गरिएको थियो । आजदेखि पुनः सञ्चालन गरिएपछि अहिले यात्रुहरूको भीड बढेको हो ।”
विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह समेत गरेको छ।





